आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी

आर्टिक क्षेत्रमा वातावरणीय क्षति निम्तिरहेकै समय अमेरिका, रुस र नर्वेजस्ता देशले यहाँ तेल उत्खनन् गर्ने योजना बनाइरहेका छन् ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Arctic region experiences hottest summer in 125 years

What you should know

एजेन्सी — आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । 

अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको  थियो ।

पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ तापक्रम वृद्धि उच्च रहेको उक्त रिपोर्टले औल्याएको छ । १३ देशका १ सय १२ जना लेखकहरुले सहकार्य गरेर यो रिपोर्ट तयार गरेका हुन् ।

स्याटेलाइट इमेज लिन थालिएको ४७ वर्षयता मार्च २०२५ मा हिउँदको हिउँको सतह सबैभन्दा कम रहेको पनि रिपोर्टमा उल्लेख छ । 

लेखकहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै यस रिपोर्टबारे जानकारी दिएका हुन् । सम्मेलनमा एक रिपोर्टरले जिवाश्म इन्धन प्रदूषण र आर्टिक क्षेत्रमा देखिएको वातावरणीय परिवर्तनबीचको सम्बन्धबारे सोधेका थिए । 

तर, एनओएएका कार्यकारी प्रमुख वैज्ञानिक स्टेफेन थुरले  जिवाश्म इन्धन र जलवायु परिवर्तनको विषयलाई आफ्नो जवाफमा प्रत्यक्ष उल्लेख गरेनन् । 

‘हाम्रो ग्रह नाटकीय रुपमा परिवर्तन भइरहेको हामीलाई थाहा छ । एनओएएमा हाम्रो भूमिका आज के भइरहेको छ भन्ने विषयलाई दस्तावेजीकरण गरेर भविष्यमा के हुनसक्छ भन्ने प्रक्षेपण गर्ने प्रयास गर्नु हो,’ उनले भने । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनमा औद्योगिकरणको भूमिका र त्यसले वातावरणमा पारेको प्रभावको विषयलाई नजरअन्दाज गर्दै आएका छन् । पछिल्लो समय अमेरिकी संघीय संस्थानहरुले आफ्नो वेवसाइटबाट जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिजस्ता विषयलाई हटाउने गरेका छन् । 

आर्टिक क्षेत्रमा वातावरणीय क्षति निम्तिरहेकै समय अमेरिका, रुस र नर्वेजस्ता देशले यहाँ तेल उत्खनन् गर्ने योजना बनाइरहेका छन् । 

गत अक्टुबरमा क्रेमलिन इन्भेस्टमेन्टका किरिल दिमिट्रेभले साइबेरियादेखि अलास्कासम्मको १ सय १२ किलोमिटर रेल रोड तथा कार्गो लिंकले अमेरिका र रुसलाई संयुक्त रुपमा यहाँ स्रोतहरुको उत्खनन् गर्न सहयोग पु¥याउने बताएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully