बच्चालाई जति ढिला स्मार्ट फोन चलाउन दियो, उति नै राम्रो हुने विज्ञहरूको सुझाव
What you should know
एजेन्सी — १२ वर्ष नपुग्दै स्मार्टफोन चलाउँदा बालबालिकाहरुमा निद्राको कमी, मोटोपन र डिप्रेशनको जोखिम देखिनसक्ने नयाँ अध्ययनले औल्याएको छ ।
बच्चाले जति चाडों स्मार्टफोन चलाउँछ, त्यति नै धेरै यस्ता समस्या विकास हुने जोखिम बढ्ने पनि अनुसन्धानकर्ताहरुले जनाएका छन् । जर्नल पेडियाट्रिसमा प्रकाशित नयाँ अध्ययनले यस्तो देखाएको हो ।
अमेरिकाको फिलाडेल्फियास्थित बाल अस्पतालमा मानसिक रोग विशेषज्ञ रहेका डा. रान बार्जिलेको नेतृत्वमा यो अध्ययन गरिएको थियो ।
‘बच्चालाई जति ढिला स्मार्ट फोन चलाउन दियो, उति नै राम्रो हुने सुझाव’ बार्जिलेले अभिभावकलाई दिएका छन् ।
अनुसन्धान कसरी भयो?
पेनसिल्भेनिया विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय बक्र्ली, र कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरू मिलेर बनेको टोलीले विभिन्न उमेर समुहका १०,५०० भन्दा बढी सहभागीका तथ्यांकहरु अध्ययन गरेको थियो ।
त्यसक्रममा अनुसन्धानकर्ताहरूले ९ देखि १६ वर्षका बच्चाहरूको २०१६ देखि २०२२ सम्मको तथ्यांक विश्लेषण गरे । उनीहरुले स्मार्टफोनले बच्चालाई कसरी अधीनमा राख्छ र बच्चाले पहिलो स्मार्टफोन कुन उमेरमा पाएको थियो भन्ने विषय अध्ययन गरेका थिए ।
अध्ययनका दौरान १२ वर्षको उमेरमा स्मार्टफोन भएका बच्चा र त्यसबेलासम्म स्मार्टफोन नभएको बच्चाबीचको अन्तर खोजिएको थियो । जसअनुसार १२ वर्षभित्र स्मार्टफोन भएका बच्चामा डिप्रेसनको जोखिम १.३ गुणा बढ्ने, मोटोपन को जोखिम १.४ गुणा बढ्ने,अनिद्राको जोखिम १.६ गुणा बढ्ने देखियो ।
र, यस्ता समस्याको जोखिम हरेक वर्ष १०% ले बढ्दै जाने पनि अध्ययनले देखायो । अर्थात्, बच्चाले जति चाँडो स्मार्टफोन पायो, यो जोखिम उति नै धेरै हुनेछ ।
स्मार्टफोन चलाएका बच्चामा ४ वर्षको उमेरदेखि नै यस्तो समस्या देखिने अध्ययनको निष्कर्ष छ ।
अध्ययनले के संकेत गर्छ?
बार्जिले भन्छन, ‘यो अध्ययनले स्मार्टफोन प्रयोग र बच्चाहरूको नकारात्मक स्वास्थ्य परिणामबीच सम्बन्ध रहेको संकेतहरु देखाएको छ । तसर्थ, अभिभावकहरु सचेत हुनैपर्छ ।’
उनले थपे, ‘प्रविधिको युगमा बच्चालाई त्यसबाट पूर्ण अलग गर्न सहज छैन । मेरा दुई छोराछोरीले पनि १२ वर्ष पुग्नुअघि नै स्मार्टफोन पाएका थिए । तर, हामीले यसलाई जिम्मेवार रुपमा चलाउनुपर्छ र बच्चाहरुमा पनि यस्तै बानी विकास गराउनुपर्छ । जस्तो राति सुत्ने कोठामा फोन प्रयोग गर्न नदिने, अनावश्यक गतिविधिमा यसको प्रयोग नगर्ने लगायत ।’
अमेरिकी मनोवैज्ञानिक संघले स्क्रिन टाइममाथिको नियन्त्रणसँगै स्क्रिनको गुणस्तर र बच्चाको सामाजिक अन्तक्र्रियामा पनि सुधार ल्याउन जरुरी रहेको औल्याएको छ ।
अर्थात्, बच्चालाई निश्चित समय मात्रै मोबाइल चलाउन दिने र बाँकी समय सामाजिक तथा शारिरीक गतिविधि ( खेलकुद, सामाजिक अन्तक्रिया, मनोरञ्जनात्मक कार्यक्रम, पारिवारीक काम) लगायतमा इन्गेज गराउनु राम्रो हुन्छ ।
