पछिल्लो समय फेसबुक, इन्टाग्राम र टिकटकमा 'फार्ट वाक' चर्चामा छ
What you should know
एजेन्सी — फार्ट वाक पछिल्लो समय सामाजिक सञ्जालमा वेलनेस ट्रेन्ड बनिसकेको छ । खाना खाएको कम्तिमा ३० मिनेट र बढीमा १ घण्टापछि (५–१५ मिनेटसम्म) हल्का हिंड्ने वा हल्का व्यायाम गर्ने बानी नै ‘फार्ट वाक’ हो ।
भोजनपछि पेटमा बन्ने अपन वायु फाल्नका लागि यसरी हिंड्ने गरिन्छ । क्यानेडेली अभिनेत्री म्यारलिन स्मिथले आफ्ना पतिसँग फार्ट वाकमा निस्केको फोटो तथा भिडियोलाई सामाजिक सञ्जाल (विशेषगरी टिकटकमा) शेयर गरेर ठूलो सख्यांमा भ्युज बटुलिरहेकी छिन् ।
सामाजिक सञ्जालमा उनले नै फार्ट वाक शब्दलाई चर्चामा ल्याएकी हुन् ।
उनी भन्छिन्, ‘धेरै वर्ष पहिले हामीले आफ्नो कुकुरलाई राती खाना खाइसकेपछि घुमाउन लैजाने गरेका थियौं र यसलाई हामीले फार्ट वाक भन्थ्यौं । हामी बाहिर जाँदा शरीरबाट अतिरिक्त ग्याँस बाहिर निस्कन्थ्यों । यसले शरीरमा पुर्याएको फाइदाबारे हामीले धेरै सोचेनौं । केवल कुकुर घुमाउन लगेको कुरामात्रै सोचिरहेका थियौं ।’
स्मिथको अनुभव कतिपयलाई हाँसी-मजाक जस्तो लाग्ला । तर, ‘फार्ट वाक’ स्वास्थ्यका लागि फाइदाजनक नै छ ।
खाना खाइसकेपछि बन्ने ग्याँसलाई बाहिर निकाल्न फार्ट वाकले महत्वपूर्ण भूमिका खेल्छ ।
यसरी बन्छ ग्याँस
जब हामीले भोजन, पानी वा केही कुरा खान्छौं । तब छोटो मात्रामा हावा पनि निलिरहेका हुन्छौं । यो पाचन तन्त्रमा गएर जम्मा हुन्छ । केही खाद्यपदार्थ (जो पचाउन कठिन हुन्छन्) त्यसलाई पचाउने क्रममा पनि ग्याँस बन्नसक्छ । त्यस्तै, औषधी र अन्य कुराहरुले पनि ग्याँस बन्छ ।
स्मिथ बीबीसीसँग भन्छिन्,‘ जब तपाई हिंड्नुहुन्छ । तब आफ्नो पाचनतन्त्रको मालिश गरिरहेको हुनुहुन्छ । त्यहीकारण यसले ग्याँस बाहिर निकाल्न सहयोग गर्छ र तपाईका लागि यो वास्तवमै राम्रो छ ।’
विज्ञहरु फार्ट वाकले टाइप टु–डायबेटिज र कब्जियतको जोखिम कम गर्न पनि सहयोग पुर्याउने बताउँछन् । त्यस्तै, प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने उनीहरु बताउँछन् ।
मानसिक स्वास्थ्यमा पनि यसका धेरै लाभ छन् । व्यायामले एन्डोर्फिन र सेरोटोनिनजस्ता राम्रो महसुस गराउने केमिकल्सको उत्पादन गर्छ । त्यहीकारण, खाना खाइसकेपछि हल्का हिंड्दा मानिसहरुको चिन्ता कम हुन्छ र यसले अन्ततः राम्रो निद्राका लागि पनि मद्दत गर्छ ।
कुन समय उपयुक्त
हरेकपल्ट खाना खाइसकेपछि थोरै हिंड्नु राम्रो हुन्छ । तर सबैभन्दा राम्रो समय रातको खाना खाइसकेपछि हो ।
यसपछि झन्डै ३० मिनेटदेखि १ घण्टा प्रतिक्षा गर्ने (यस अवधिमा भोजन पच्न थाल्छ) , त्यसपछि हल्का हिंड्ने वा व्यायाम गर्ने ।
अभिनेत्री म्यारलिन भन्छिन्, ‘हामीले केवल १० मिनेट हल्का हिंडेपनि हुन्छ । धेरै कठिन व्यायाम गर्ने होइन ।थोरै हिडें पनि हुन्छ । ’
