तीजमा व्रतका केही सर्त

व्रतले शरीरलाई फाइदा गर्छ । तर, कस्तो व्रत ? कसरी बस्ने ? कसले बस्ने ? कहिले बस्ने ? यावत् कुरा मूल प्रश्न हुन् ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Some conditions of fasting on Teej

What you should know

काठमाडौँ — तीज भन्नासाथ एक किसिमको उत्साह हुन्थ्यो, सानैदेखि । व्रत किन लिने ? कसले लिन्छ ? त्यसबारे खासै मतलब हुँदैनथ्यो । हामीलाई एउटै कुराले कुरा बनाउँथ्यो, दर । तीजको दर खान पाउनु नै मुख्य कुरा थियो । 

तर, आज अवस्था ठीक विपरीत छ । अहिले दरभन्दा पनि उपवास वा व्रतमा चासो बढेको छ । व्रत किन बस्ने भन्ने कुरा परम्परा वा आस्थासँग मात्र होइन शारीरिक स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । 

व्रतले शरीरलाई फाइदा गर्छ । तर, कस्तो व्रत ? कसरी बस्ने ? कसले बस्ने ? कहिले बस्ने ? यावत् कुरा मूल प्रश्न हुन् । किनभने व्रतका पनि विभिन्न प्रकार छन् । कोही निराहार बस्छन्, जसले दिनभर पानी मात्र होइन थुक पनि निल्नु हुँदैन भन्ने मान्यता छ । कसैले फलफूल मात्र खाएर बस्छन् । कसैले एक छाक खाएर पनि व्रत बस्छन् । 

व्रत बस्दा मूलतः पेट वा पाचन तन्त्रमा प्रभाव पर्छ । यसले पाचन क्रियालाई विश्राम दिन्छ, जुन स्वास्थ्यका लागि जरुरी हुन्छ । त्यस्तै यसले इन्सुलिनको सेन्सिटिभिटी बढाउँछ । 

लगातार भोजन सेवन गर्दा पेट, आन्द्रा र सम्बन्धित अङ्गहरू निरन्तर काममा रहन्छन्, जसले थकान र अपचको समस्या ल्याउन सक्छ । व्रतले पाचनतन्त्रको दबाब घटाई त्यसलाई पुनः सक्रिय हुन मद्दत गर्छ । यस समयमा शरीरले पुराना बोसो र विषाक्त पदार्थहरू जलाउन सुरु गर्छ, जसले पाचन क्षमता र आन्द्राको स्वास्थ्यमा सुधार ल्याउँछ । साथै, पाचन रसहरूको सन्तुलन मिलाएर पेट फुल्ने, ग्यास र अपचजस्ता समस्या कम गर्न व्रत लाभदायी हुन्छ ।

तर, सबै अवस्थामा शरीरले यस्तो लाभ लिँदैन । कतिपय अवस्थामा पानी पनि नखाई व्रत बस्दा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले गर्दा थकान, चक्कर लाग्छ । कमजोरी भई तनावको स्तर बढ्ने हुन्छ । कहिलेकाहीँ ग्लुकोजको मात्रा पनि घट्न सक्छ । 

यस्तै अरु बेला ग्यास्ट्रिक नहुनेलाई पनि पेटमा एसिडको मात्रा बढेर सताउन सक्छ । हाम्रो शरीरको महत्वपूर्ण हिस्सा पानी हो । जब पानी नै शरीरलाई पुग्दैन भने त्यसमा समस्या आउँछ । त्यसैले पानी पनि नखाई व्रत बस्नका लागि म व्यक्तिगत रूपमा सिफारिस गर्दिनँ । 

दरको कुरा 

दर आफैमा मिष्ठान्न भोजनको संगम हो । व्रत बस्नुअघि दर खाने प्रचलन छ । तर, दर खानुअघिको समयको आहार कस्तो हुनुपर्छ त ? त्यो झोलिलो, पोषिलो र सुपाच्य हुन जरुरी छ । छिट्टै ग्लुकोजमा परिणत नहुने खालको होल ग्रेन उपयुक्त हुन्छ । यसो हुँदा, शरीरलाई लामो समय त्यो खानाले ऊर्जा दिन्छ । यस्तो खानेकुरा भनेको बोक्रासँगको, गेडागुडी, क्वाँटी आदि हुन् । 

कफी, रक्सी आदि खानेकुरा नखाने । त्यसले शरीरलाई निर्जलीकरणको समस्या ल्याउन सक्छ । 

व्रतमा के खाने ? 

कतिले फलफूल मात्र खाएर पनि व्रत बस्छन् । त्यस्तो अवस्थामा दही वा मोहीमा फलफूल मिसाएर खानु राम्रो हुन्छ । मौसमी फलफूलमा जोड गर्नुपर्छ । व्रतमा कमजोरी महसुस भएमा धार्मिक आस्था एकातिर छँदै छ, तर शारीरिक अवस्थालाई ख्याल गर्नुपर्छ । यदि अरुथोक खाइएन भने पनि नरिवल पानी खानुपर्छ । अकस्मात् ग्लुकोजको मात्रा कम भए नुन र चिनीमा पानीको मिश्रण खानुपर्छ । 

मधुमेह र रक्तचाप भएकाले के गर्ने ?

मधुमेह र उच्च रक्तचापको समस्या भएकाले व्रत बस्नुअघि आफ्ना चिकित्सकसँग परामर्श गर्नैपर्छ । यस्तै डाइटिसियन सम्पर्कमा छन् भने उहाँहरूसँग पनि सल्लाह गरेर मात्र व्रत बस्नुहोला । नियमित स्वास्थ्य जाँच गरिरहनुभएको छ वा छैन ? यदि छैन भने व्रत नबस्न सुझाव दिन्छु म । किनभने तपाईंको हकमा व्रत जोखिमपूर्ण पनि हुनसक्छ । 

तपाईंहरूले औषधि नछुटाउनुहोला । बाहिर पनि धेरै घुमफिर नगरी सकेसम्म घरमै आराम गर्नुपर्छ । 

व्रतपछिको भोजन 

व्रतअघिको भोजन कस्तो हुनुपर्छ भनेजस्तै व्रतपछिको भोजन पनि महत्वपूर्ण हुन्छ । व्रत तोड्दा शरीरमा सजिलै पच्ने झोलिलो, सुपाच्य खानेकुरा खानुपर्छ । अघिल्लो दिनको व्रत र भोलिपल्टको खानाले पुलका रूपमा काम गर्नुपर्छ । यो धेरै भारी वा बोझिलो हुनुहुँदैन । ठोसभन्दा पनि अलि तरल खालको खानेकुरा खानुपर्छ । जस्तो जाउलो, तरकारीको झोल, सुप आदि । 

व्रत कसले बस्ने ? 

यतिबेला सबैलाई व्रत बस्ने मन हुन्छ । तर, व्रत कसले बस्ने भन्ने कुरा आफ्नो शारीरिक अवस्था, उमेर, कामको प्रकृति के छ भनी निर्धारण गर्नु उपयुक्त हुन्छ । 

बालबालिका, बूढापाका, रोगी आदिले व्रत बस्नुहुँदैन । बालबालिकाहरूले व्रत नबस्नु होला । किनभने यतिबेला उनीहरूको शरीरलाई बढी पोषण जरुरी हुन्छ । त्यो पोषणबाट शरीरलाई विच्छेद गर्नुभएन । 

- योर डाइटिसियन क्लिनिकका कन्सल्टेन्ट डाइटिसियन डा. मोदनाथ पौडेलसँगको कुराकानीमा आधारित 

कान्तिपुर

Link copied successfully