अध्ययनले मुटु, क्यान्सर, र डिमेन्सिया जस्ता रोगको जोखिम घटाउन ७ हजार पाइला हिँड्नु पर्याप्त हुने दाबी गरेको छ।
What you should know
काठमाडौँ — हालै गरिएको एक नयाँ अध्ययन अनुसार दैनिक ७ हजार पाइला हिँड्दा नसर्ने रोगहरुको जोखिम उल्लेखनीय रुपमा कम हुने पाइएको छ ।
मुटु रोग, क्यान्सर, डिमेन्सिया र डिप्रशनका कारण हुने मृत्युको जोखिम कम गर्न दैनिक सात हजार पाइला हिँड्नुपर्ने अध्ययनमा उल्लेख छ ।
यसअघि नसर्ने रोगहरुबाट हुने मृत्युदर र जोखिम कम गर्न दैनिक १० हजार पाइला हिँड्नुपर्ने बताइएको थियो । तर हालै अन्तर्राष्ट्रिय चिकित्सा पत्रिका द ल्यान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार दैनिक ७ हजार पाइला हिँड्नु उपयुक्त हुने बताइएको छ । यसले नसर्ने रोगहरुको जोखिम कम गर्ने दाबी गरिएको छ ।
इन्टरनेशनल कार्डयोलोजिस्ट डा ओम मूर्ति अनिलका अनुसार प्रतिवदेनअनुसार प्रतिदिन १० हजार पाइला हिँड्नु गलत हो भनेर व्याख्या गर्न पनि हुँदैन । ‘स्वस्थ शरीर र शारीरिक गतिविधिमा संलग्न हुनका लागि दैनिक १० हजार वा सोभन्दा बढी पाइलाहरु हिँडिरहनुपर्छ । तर प्रतिवेदनले हिँड्ने वा शारीरिक गतिविधिमा सक्रिय नहुनेका लागि पनि कम्तिमा दैनिक ५ हजारदेखि सात हजार पाइला हिँड्नुपर्छ भनिएको हो,’ उनले भने ।
हालैका वर्षहरुमा नसर्ने रोगहरुका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१७ को एक प्रतिवेदनअनुसार कूल मृत्युको दुई तिहाई अर्थात् ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु जिम्मेवार छन् । यो संख्या सन् २०१९ सम्म आउँदा ७१ दशमलव १ प्रतिशत पुगेको छ । २०२३ मा अझै बढेर ७३ प्रतिशत पुगेको प्रतिवेदनमा छ ।
द ल्यान्सेटको अध्ययन अनुसार विश्वभरका वयस्कहरुले प्रतिदिन ७ हजार पाइला हिँड्दा नसर्ने रोगबाट हुने मृत्युको जोखिम ४७ प्रतिशतले कम हुन आउँछ । यस्तै दैनिक सात हजार पाइला हिँड्दा मुटु रोगको जोखिम २५ प्रतिशतले कम हुने र मुटु रोगका कारण मृत्यु हुने जोखिम ४७ प्रतिशतले कम हुन आउँछ । यस्तै दैनिक २ हजार पाइला हिँड्नेहरुको तुलनामा सात हजार पाइला हिँड्नेहरुमा टाइप-२ मधुमेहको जोखिम १४, डिमेन्सियाको जोखिम ३८ र डिप्रेसनका लक्षणहरू २२ प्रतिशतले कम हुने अध्ययनले बताएको छ ।
अनिलले आलस्ययुक्त जीवनशैली त्याग्न सुझाव दिएका छन् । दिनमा २ हजार पाइलाभन्दा कम हिँड्नेहरुमा नसर्ने रोगहरुको जोखिम उच्च हुने उनको भनाइ छ । उनी सामाजिक मुद्दाहरुका साथै नियमित स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु उत्पादन गरी सामाजिक सञ्जालमा साझा गर्दै आएका छन् । फेसबूकमा १२ लाख बढी फलोअर्स भएका डा. अनिलले मुटु स्वास्थ्य जागरुकता लाइभस्ट्रिमको लागि सबैभन्दा धेरै भ्यूअर्स प्राप्त गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डसमेत कायम गरेका छन् ।
