रक्तदानसम्बन्धी भ्रमहरु, जसलाई सत्य मानेर मानिसहरु रगत दिनबाट डराउँछन्  

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Myths about blood donation, which people believe to be true make them afraid to donate blood

काठमाडौँ — हरेक वर्षको जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइन्छ । यस दिन मानिसहरुलाई रक्तदानका लागि सचेतना फैलाउने काम गरिँदै आएको छ । साथै, आजको दिन रक्तदान गर्ने मानिसहरुलाई आभारसमेत व्यक्त गरिन्छ । 

तर रक्तदानबारे धेरै भ्रम र मिथकहरु छन् । जसकारण मानिसहरु रक्तदानका लागि सहजै तयार हुँदैनन् । सबै जानकारी पाएका व्यक्तिहरुले पटक–पटक रक्तदान गर्ने गरे पनि रगत दिँदा कमजोर भइन्छ, स्वास्थ्यमा समस्या आउने जस्ता भ्रममा रहेका मानिसहरु भने जीवनमा एकपटक पनि रक्तदानका लागि तयार हुन मान्दैनन् । 

रक्तदानसम्बन्धि यस्ता छन् मिथकहरु 

रक्तदानमा धेरै समय लाग्छ

प्राय मानिसहरुमा रक्तदानका क्रममा धेरै समय लाग्ने भ्रम हुन्छ । तर वास्तविकतामा भने त्यसो हुँदैन । एक जनाले एक पिन्ट रक्तदान गर्नका लागि करिब ८ देखि १० मिनेटसम्मको समय मात्र लाग्छ । तर दर्ता अन्य औपचारिक प्रक्रिया पूरा गर्न समय लाग्न सक्छ । 

पीडादायी र रिकभर हुन समय लाग्छ

रक्तदान गर्दा अत्यधिक पीडा हुने र निको हुन लामो समय लाग्ने भ्रम अधिकांशमा पाइन्छ । रक्तदान गर्दा तपाईंलाई केही अहसज महशुस भने हुनसक्छ । तर यो पीडादायी भने हुँदैन । शरीरमा रगत भरिने प्रक्रिया पनि छिटो नै हुन्छ । छोटो समयमै शरीरले स्वस्थ रगत उत्पादन गर्छ । 

प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ 

रगत दिइसकेपछि शरीरको आन्तरिक प्रतिरक्षा प्रणाली कमजोर हुने मानसिकता धेरैमा पाइन्छ । तर रक्तदान गर्नाले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो । रक्तदान गर्दा शरीरलाई कुनै हानि हुँदैन।

संक्रमणको जोखिम बढ्छ

रक्तदान गर्दा कमजोर भइने र अन्य रोगको संक्रमणको जोखिम बढ्ने मान्यताहरु पनि विद्यमान छन् । तर आजकल रक्तदानका लागि राम्रा उपकरणहरु प्रयोग गरिन्छन् त्यही कारण रोगको संक्रमण हुन्छ भन्ने मान्यता पूर्ण रुपमा गलत हो । 

रक्तदान एकपटक मात्र गर्न सकिन्छ

धेरै जसो मानिसहरु एकपटक रक्तदान गरेपछि दोहोर्‍याएर गर्नु हुँदैन भन्ने मान्छन् । तर एक स्वस्थ मानिसले एक वर्षमा चारपटकसम्म रक्तदान गर्न सक्छन् । हरेक तीन/चार महिनाको अन्तरालमा एकपटक रक्तदान गर्दा शरीरमा कुनै समस्या देखिँदैन । 

रक्तदान समयको बर्बादी हो

रक्तदानलाई जीवनदान पनि भनिन्छ । सबैभन्दा पूण्यको काम हो । तपाईंको रक्तदानले अरु कसैको जीवन बाँच्न सक्छ । त्यसैले आवश्यक परेका बेला समयको बर्बादी या हल्का रुपमा नलिइन रक्तदान गर्नु उपर्युक्त हुन्छ । 

कान्तिपुर

Link copied successfully