काठमाडौँ — प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’
नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज अन्तर्गतको वीर अस्पतालमा कार्यरत नेशनल ब्रेन ट्युमर सेन्टरका अनुसार नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यक छ ।
सेन्टरका अध्यक्ष प्रा. डा. राजिव झाका अनुसार नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी रोगको अवस्था, जोखिम, उपचारको चुनौती र अनुसन्धानको आवश्यकता देखिएको छ ।
नेपालमा महिलामा मस्तिष्क ट्युमर देखिने सम्भावना ६०–७० प्रतिशत सम्म हुने अनुमान सेन्टरले गरेको छ । पछिल्लो समय ३५ देखि ५० वर्ष उमेर समूहमा ट्युमरको सम्भावना बढी देखिएको छ ।
मस्तिष्क ट्युमर पहिचान गर्न सकिने सामान्य लक्षणहरू यस्ता छन्
टाउको दुखाइ – ४६ प्रतिशत
बान्ता हुने – ३५ प्रतिशत
झट्का लाग्ने, शरीर पक्षघात हुने, र दिशा गुम्ने लक्षण देखापर्ने
दृष्टि, श्रवण र सञ्चार क्षमतामा समस्या आउनु
ट्युमरको प्रकार
नेशनल ब्रेन ट्युमर सेन्टरका अनुसार नेपालमा देखिने मस्तिष्क ट्युमरमध्ये सबैभन्दा बढी ‘ग्लायोमा’ ३९ प्रतिशत रहेको छ । यसका अतिरिक्त, मेनिन्जियोमा (२९ प्रतिशत) र पिट्युटरी ट्युमर (६ प्रतिशत) पनि देखा पर्ने गर्छन् । ग्लायोमा ट्युमर प्रायः घातक हुने जनाइएको छ ।
उपचारको अवस्था र चुनौती
नेपालमा मस्तिष्क ट्युमर उपचारमा प्रविधि विस्तार भए पनि अझै विशेषज्ञ चिकित्सक र पूर्वाधारको अभाव रहेको जनाइएको छ । सेन्टरले न्युरोअनकोलोजी, न्युरोसर्जरी, रेडियोथेरापी, तथा केमोथेरापीजस्ता बहुआयामिक उपचार पद्धति अपनाइरहेको छ । सर्जरीका लागि स्क्याल्पेल–रहित प्रविधि समेत प्रयोगमा ल्याइएको छ ।
नेपाल सरकार र स्वास्थ्यसम्बन्धी निकायहरूलाई मस्तिष्क ट्युमरसम्बन्धी अनुसन्धान र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरिएको छ । साथै, जनचेतनामूलक कार्यक्रम, समयमै पहिचान र प्रभावकारी उपचारको प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’
