काठमाडौँ — एआई प्रयोग गरेर हाम्रा कतिपय सिस्टम वा एप्लिकेसनलाई अझै बढी सुरक्षित बनाउन सकिन्छ । एआईले हाम्रा सुरक्षा उपायलाई थप बलियो बनाउन मद्दत गरेका छन् ।
तर एआई सुरक्षाको मात्रै टुल होइन । त्यही टुल प्रयोग गरेर ह्याकरहरूलाई सुरक्षा घेरा तोड्न सहज भएको छ । त्यसकारण एआईका कारण साइबर सुरक्षा बलियो भएको छ भने जोखिम पनि झनै बढेको छ ।
पहिला-पहिला एउटा पासवर्ड क्र्याक गर्न ह्याकरलाई १० वटा मेसिन लगाएर एक घण्टा लाग्थ्यो भने अब एआई र क्वान्टम प्रोसेसिङमार्फत त्यही चिज १ मिनेटमा क्र्याक गर्न सक्ने भएका छन् ।
फेक इमेल र फिसिङ म्यासेज कसरी चिन्ने ?
कङ्ग्राचुलेसन्स (बधाई छ) वा ‘भेरी अर्जेन्ट’ भनेर इमेल वा एसएमएस आयो भने त्यो फेक हुन सक्छ भन्ने बुझ्नुपर्छ । त्यस्ता इमेल पठाउनेको नाम कुनै प्रसिद्ध व्यक्ति वा कम्पनीको जस्तै गरी आउन सक्छ । उदाहरणका लागि ‘माछापुच्छ्रे बैंक’ भनिएको हुन्छ तर त्यसको भित्र गएर हेर्यो भने इमेल आईडी चाहिँ आधिकारिक हुँदैन । त्यसैले नामबाट कहिल्यै झुक्किनु हुँदैन ।
- नेपाल खुला विश्विद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख तथा सहायक प्राध्यापक भोजराज घिमिरेसँग गरिएको कुराकानीमा आधारित ।
