काठमाडौँ — प्रदूषित हावामा सास फेर्न आजकल धेरै मानिसहरूको लागि बाध्यता बनेको छ । तर गर्भावस्थामा सकेसम्म यसबाट बच्न प्रयास गर्नुपर्छ । किनभने प्रदूषित हावाको प्रभाव फोक्सो वा श्वासप्रश्वासको समस्यामा मात्र सीमित छैन । बरु, यसले गर्भमा रहेको बच्चाको विकासलाई पनि असर गर्छ ।
अमेरिकाको एमोरी विश्वविद्यालयमा गरिएको एक नयाँ अनुसन्धानले वायु प्रदूषणमा रहेका सूक्ष्म कणहरूले गर्भवती महिलाहरूलाई गम्भीर खतरा निम्त्याउन सक्ने खुलासा गरेको छ । यी विषाक्त कणहरूको सम्पर्कमा आउँदा गर्भवती महिलाको शरीरको मेटाबोलिज्म प्रक्रियामा असर पर्छ, जसले गर्दा बच्चाको समयपूर्व जन्मको जोखिम धेरै गुणा बढ्छ ।
अध्ययन के हो?
एमोरी विश्वविद्यालयको रोलिन्स स्कूल अफ पब्लिक हेल्थका वैज्ञानिकहरूले ३३० गर्भवती महिलाहरूको रगतको नमुनाहरूको विश्लेषण गरेका थिए ।
यी नमुनाहरूमा दुई विशिष्ट जैविक पदार्थहरू, कोर्टेक्सोलोन र लाइसोपीई फेला परेका थिए, जसले वायु प्रदूषणको सम्पर्कमा आउँदा शरीरभित्र कसरी परिवर्तनहरू आउँछन् र समयपूर्व प्रसवको सम्भावना बढ्छ भनेर देखाउँछ ।
बच्चाको विकास प्रभावित हुन्छ
यस अध्ययन अनुसार वायु प्रदूषणले शरीरमा प्रोटिनको पाचन र अवशोषण प्रक्रियामा बाधा पुर्याउँछ, जुन भ्रूणको उचित विकास र यसको रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै महत्त्वपूर्ण छ ।
समयपूर्व जन्मको जोखिम
अध्ययनमा समावेश गरिएका ३३० महिलामध्ये ६६ जनाले समयपूर्व बच्चा जन्माए अनुसन्धानबाट पत्ता लागेको छ । यो दर सामान्य अमेरिकी जनसंख्या भन्दा बढी छ ।
समयपूर्व जन्मिएका बच्चाहरूमा स्वास्थ्य समस्याहरू
समयभन्दा पहिले जन्मिएका बच्चाहरूमा श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्क पक्षाघात र दीर्घकालीन विकासात्मक समस्याहरूको जोखिम बढी हुन्छ । किनभने यो समय पूर्ण गर्भावस्था अवधिभन्दा छोटो मानिन्छ, जुन बच्चाको विकासको लागि आवश्यक हुन्छ ।
रोकथाम
अध्ययनका प्रमुख लेखक प्रो. डोंगहाई लियाङका अनुसार यदि कसरी सुक्ष्म कणले शरिरलाई प्रभावित गर्छन् भन्ने बुझ्न सके समयभन्दा पहिला जन्म हुने समस्या रोक्न सहयोगी उपाय र उपचार विकसित गर्न सकिनेछ । एजेन्सी
