काठमाडौँ — विवाहलाई लिएर कैयौं मान्यताहरु छन् । जो धर्म, संस्कृति र स्थान अनुसार भिन्न भिन्न छन् । तर हिन्दू धर्म संस्कृतिको कुरा गर्ने हो विवाहलाई सात जन्मको सम्बन्धका रुपमा बुझिन्छ । यहाँ विवाह गर्नुलाई अपूर्णबाट जीवन पूर्णतामा प्रवेश गर्नुलाई लिइन्छ ।
यही संस्कृतिमा महिलाहरु विवाहपछि पतिलाई परमेश्वर मानेर पुरुषको दीर्घायू र स्वस्थ जीवनका लागि ब्रत, पूजा, पाठ जस्ता अनेक विधि गर्छन् । तर यस्ता कार्यबाट पुरुषको आयु लामो हुन्छ भन्नु केवल धार्मिक मान्यता मात्र हो । आयु त आफ्नो जीवनशैली, काम, उपभोग्य वस्तुका असर आदीले प्रभाव पार्छन् ।
यद्दपि पुरुषको आयुको कुरा गर्ने हो भने अविवाहितको तुलनामा विवाहित पुरुषको आयु लामो हुने एक अध्ययनमा पाइएको छ । केही समयअघि क्यानडामा गरिएको अध्ययनमा अविवाहितको तुलनामा विवाहित पुरुषको आयु लामो हुनुका साथै जीवन पनि गुणस्तरीय बन्ने गरेको निष्कर्ष निकालिएको छ । विना जीवनसाथीका पुरुषको तुलनामा विवाहित पुरुष बढी जिम्मेवार र सफल भएको अध्ययनमा दाबी गरिएको छ ।
अध्ययनमा महिला र पुरुषको आयुमा विवाहको असर अलग अलग हुने बताइएको छ । जहाँ विवाहित पुरुषको उमेर अविवाहित पुरुषको तुलनामा विस्तारै विस्तारै बढ्छ । महिलाको तुलनामा भने यो स्थिति केही फरक छ ।
महिलामा र पुरुषमा विवाहको असर
जीवनसाथी सँग रहने पुरुष लामो उमेर बाँच्छन् । यसको ठ्याक्कै विपरीत विवाहित महिलामा उमेर बढ्ने अनुभव अविवाहित महिलाभन्दा भिन्न छैन । अध्ययन अनुसार डीभोर्सी या विधवा महिलाको उमेर बढ्ने प्रक्रिया अविवाहित महिलाको तुलनामा बढी कठिन हुन्छ ।
के हो अध्ययन?
यो अध्ययन क्यानडाका पाको उमेरका मानिसहरुमा आधारित छ । जहाँ ४५ देखि ८५ वर्षसम्मका मानिसहरुको स्वास्थ्य र जीवनशैलीलाई २० वर्षसम्म ट्रयाक गरिएको थियो । विवाहित हुनु र नहुनुले उनीहरुको स्वास्थ्य र उमेर बढ्ने प्रक्रियामा कस्तो असर पर्छ भन्ने विषयमा अध्ययन गरिएको थियो ।
विवाह गर्दा हुने प्रभाव
अध्ययनमा विवाहित जीवनमा पुरुष र महिलाका लागि अलग अलग असर पर्ने देखिएको छ । विवाहले उमेर बढाउने मात्र नभई मानसिक, शारिरीक र भावनात्मक रुपमा पनि सकारात्मक प्रभाव पार्ने पाइएको छ ।
