काठमाडौँ — सामाजिक सञ्जालमा गोपनीयतामा विशेष ध्यान दिनुपर्छ । त्यसैले, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्मका प्राइभेसी सेटिङ मिलाउनु पनि महत्वपूर्ण हुन्छ ।
मलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने सेटिङ हुन्छ । त्यसमा साथीको साथी (फ्रेन्ड्स अफ फ्रेन्ड्स) छनोट गर्ने । यसो गर्दा कम्तीमा साथीको साथीले मात्रै रिक्वेस्ट पठाउन पाउँछन् । आफ्ना पोस्टलाई पब्लिक नगरेर फेन्ड्स मात्रै राख्न सकिन्छ । फेस रिकग्निसन डिसेबल गरिदिने ताकि मेरो फोटो हेरेरै पहिचान नहोस् । हरेक सोसल मिडिया एपभित्र ‘सेटिङ’ भन्ने आइकन हुन्छ । त्यसभित्र ‘प्राइभेसी’ मा गएर ‘हाउ पिपल क्यान फाइन्ड एन्ड कट्याक्ट यु’, ‘प्रोफाइल एन्ड ट्यागिङ’ जस्ता विकल्पहरू मिलाउन सकिन्छ ।
टु-फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुका फाइदा
यो भनेको मूल गेटमा साँचो लगाएर घरभित्र सबै उदांग गर्ने कि मूल गेटमा एउटा साँचो र त्यसपछि घरभित्रका कोठैपिच्छे अर्को पनि साँचो लगाउँदै जाने भन्ने हो । आफ्नो घरभित्र कसैलाई आउन दिनका लागि एकभन्दा बढी सुरक्षा विधि अपनाउने चिजलाई टु-फ्याक्टर अथेन्टिकेसन वा मल्टी-फ्याक्टर अथेन्टिकेसन भनिन्छ ।
यसको उद्देश्य जो मान्छेलाई भित्र जानका लागि अनुमति दिइएको छ, त्यो जाओस्, त्योभन्दा बाहेक नजाओस् भन्ने हो । फेसबुकमा ‘सेक्युरिटी एन्ड लग इन’ भित्र गएर टु-फ्याक्टर अथेन्टिकेसन क्लिक गरेपछि तपाईंले प्रयोग गर्न चाहेको सुरक्षा विधि छान्नुपर्छ । यसमा अथेन्टिकेसन एप वा टेक्स्ट म्यासेजजस्ता विकल्प हुन्छन् । गुगल, माइक्रोसफ्ट लगायतका अथेन्टिकेसन एप हुन्छन् । ती प्रयोग गरे पनि भयो । त्यो जानिँदैन भने एसएमएसबाट अथेन्टिकेट गर्ने विकल्प छान्न सकिन्छ ।
- नेपाल खुला विश्विद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख तथा सहायक प्राध्यापक भोजराज घिमिरेसँग गरिएको कुराकानीमा आधारित ।
