काठमाडौँ — कुनै पनि यात्राको योजना बनाउँदा त्यहाँ पुगिसकेपछि बस्नका लागि होटल छनोट महत्त्वपूर्ण हुन्छ । एक राम्रो र कम्फर्टेबल होटलले तपाईंको यात्रालाई रोमाञ्चक र सम्झनलायक बनाउँछ ।
तर गलत छनोटले पश्चाताप महशुस गराउन सक्छ । यसकारण यात्रामा निस्किनुअघि होटल छनोट गर्दा यी निम्नानुसार कुराहरुमा ध्यान राख्नुपर्छ ।
१. लोकेशन हेर्नुहोस्
सबैभन्दा पहिला त जुन लोकेशनमा होटल छ त्यो ठाउँ तपाईंको योजनाअनुसार छ कि छैन । यदि तपाईं पर्यटनका लागि जाँदै हुनुहुन्छ भने होटल यातायातको सहज पहुँच भएको र जान खोजेको ठाउँ नजिक हुन आवश्यक छ ।
यसले तपाईंको समय र भाडाको बचत हुन्छ । यदि बिजनेश ट्रीप हो भने होटल सहरको केन्द्र वा काम गर्नुपर्ने ठाउँ नजिक छनोट गर्नुहोस् । लोकशनसँगै आसपासका सुविधा जस्तै, रेस्टुरेन्ट, बजार, सार्वजनिक यातायातको पहुँच आदी चेक गर्नुहोस् ।
२. होटलका सुविधा
बुकिङअघि होटलको सुविधा चेक गर्नुहोस् । इन्टरनेट, पार्किङ, नाश्ता, स्विमिङ पुल, जीमका सुविधालगायत तपाईंलाई आवश्यकताअनुसार चाहिने सुविधाहरु हेर्नुहोस् ।
यदि तपाईं परिवारका साथ जाँदै हुनुहुन्छ भने बच्चाका लागि खेल्ने क्षेत्र, पारिवारिक वातावरण हेर्नुहोस् । साथै कोठाको सरसफाइ र गुणस्तरबारे पहिले नै जानकारी लिनुहोस् ।
३. बजेट
कुनै पनि ठाउँ जाँदा योजना मात्र बनाएर हुँदैन । त्यो योजना पूरा गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण त आर्थिक जोहो नै हुन्छ । त्यसैले तपाईंसँग कति बजेट छ भन्ने कुरा ख्याल गर्नुपर्छ । होटलको भाडा तपाईंसँग भएको रकमअनुसारको होस् ।
मूल्यका साथै आन्तरिक चार्ज, जस्तै:कर, सर्भिस चार्ज या अतिरिक्त सुविधाको रकमबारे जानकारी लिनुहोस् । अनलाइन बुकिङ प्लेटफर्ममा छुट वा अफरको खोजी गर्नुहोस् । तर सस्तोमा पर्ने चक्करमा गुणस्तरीयतामा भने सम्झौता नगर्नुहोस् ।
४. रेटिङ हेर्नुहोस्
आफूले बस्न चाहेको होटलबारे त्यसअघिका प्रतिक्रिया र रेटिङ पढ्नुहोस् । त्यसअघि बसेका पाउनाको अनुभवले तपाईंलाई त्यस होटलको अवस्थाबारे जानकारी दिन्छ । विश्वासिलो वेबसाइट्समा रिभ्यू हुर्नुहोस् । स्टाफका बानी व्यहोरा, सरसफाइ, र सुरक्षाजस्ता कुराहरुमा ध्यान दिनुहोस् । यसका अतिरिक्त होटलको क्याल्सिलेशन नीति पनि जाँच्नुहोस् । किनकी अन्तिम समयमा आएर योजना रद्द गर्नुपर्यो या बसाइँ सहज लागेन भने बुकिङ रद्द गर्न सजिलो होस् ।
५. सुरक्षा व्यवस्था
तपाईं आफ्नो सुरक्षाको ख्याल गरनुहोस् । होटलमा २४ अै घण्टा सुरक्षा, सीसीटीभी, र सुरक्षित लक सिस्टम हुनु अनिवार्य हुन्छ । अझ यदि रातिका लागि बस्न जाँदै हुनुहुन्छ भने यी कुराहरुबारे विशेष ध्यान दिनुहोस् ।
