काठमाडौँ — पछिल्लो समय महिलाको प्राथमिकता बदलिएको छ । करिअर निर्माण र भविष्य सुरक्षित गर्ने क्रममा विवाह र सन्तान जन्माउने निर्णय ढिलो हुने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा अण्ड भण्डारण (एग फ्रिजिङ) महिलाहरूका लागि वरदान साबित हुँदै छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नेहा हुमागाईका अनुसार अण्ड भण्डारणले महिलालाई उपयुक्त समयमा स्वस्थ बच्चा जन्माउने अवसर प्रदान गरेको छ । यसले महिलालाई आफ्नो प्राथमिकता र स्वास्थ्यलाई सन्तुलनमा राख्दै मातृत्वको सपना पूरा गर्ने स्वतन्त्रता दिन्छ । नेपालमा यो प्रविधिको उपयोग र जनचेतना बढाउन सके धेरै महिलाले यसबाट लाभ लिन सक्नेछन् ।
अण्ड भण्डारण किन आवश्यक ?
डा. हुमागाईका अनुसार २५ देखि ३० वर्ष उमेर महिलाको सन्तान जन्माउन उपयुक्त समय हो । ३० वर्षपछि अण्डको संख्या र गुणस्तर क्रमशः घट्दै जान्छ र ३५ वर्ष कटेपछि यो प्रक्रिया तीव्र हुन्छ । ढिलो उमेरमा गर्भधारण गर्दा गर्भपतन, बच्चाको धड्कन नआउने वा डाउन सिन्ड्रोमजस्ता आनुवंशिक समस्याको जोखिम बढ्छ । यस्तोमा समयमै अण्ड भण्डारण गरेर राख्दा स्वस्थ बच्चा जन्माउने सम्भावना उच्च हुन्छ ।
क्यान्सरजस्ता रोगको उपचार गर्नुपर्ने महिलाले पनि उपचारअघि अण्ड भण्डारण गर्न सक्छन् । पुरुषको वीर्यको गुणस्तर पनि उमेरसँगै घट्छ तर महिलाको अण्डको तुलनामा यसको प्रभाव कम हुन्छ । उदाहरणका लागि, ३० वर्षको उमेरमा भण्डारण गरिएको अण्डलाई ४० वर्षको पुरुषको वीर्यसँग निषेचन गराउँदा स्वस्थ बच्चा जन्मिन्छ ।
कस्ता महिलाले अण्ड भण्डारण गर्ने ?
–करिअर र भविष्यमा ध्यान केन्द्रित गर्ने र विवाह ढिलो गर्नेले ।
–३५ वर्षभन्दा कम उमेरका तर भविष्यमा सन्तान जन्माउने योजना बनाउनेले ।
–क्यान्सर वा अन्य स्वास्थ्य समस्याको उपचार गर्नुपर्नेले ।
नेपालमा जनचेतनाको कमी
नेपालमा अण्ड भण्डारणको प्रविधि उपलब्ध भए पनि धेरैलाई यसबारे जानकारी छैन । विदेशमा यो प्रविधि निकै लोकप्रिय छ, जहाँ केही कम्पनीले नै महिला कर्मचारीलाई यो सुविधा प्रदान गर्छन् । तर, नेपालमा जनचेतना अभिवृद्धिको खाँचो रहेको डा. हुमागाई बताउँछिन् ।
कति समयसम्म भण्डारण गर्न सकिन्छ ?
अण्ड भण्डारण अवधि महिलाको आवश्यकतामा निर्भर हुन्छ । विश्वमा १५ वर्षसम्म भण्डारण गरिएको अण्डबाट बच्चा जन्मिएका उदाहरण छन् । भण्डारण प्रक्रियामा व्यक्तिको विवरण सुरक्षित र व्यवस्थित रूपमा राखिन्छ, जसले महिलालाई चाहेको समयमा गर्भधारणको अवसर दिन्छ ।
खर्च कति लाग्छ ?
अण्ड भण्डारणका लागि सुरुवाती खर्च करिब दुई लाख रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक ४० हजार रुपैयाँ भण्डारण शुल्क लाग्ने डा. हुमागाई बताउँछिन् ।
