यी हुन् गर्मीमा रुचाइएका ट्रेन्डी हेयर कट

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

These are the trendy hair cuts that are preferred in summer

काठमाडौँ — मौसम परिवर्तनसँगै फेसन र स्टाइलमा पनि नयाँपन आउँछ । गर्मीयाममा युवतीहरू प्रायः नयाँ हेयर कटको खोजीमा हुन्छन् । हेयर स्टाइलिस्ट राज कुँवरका अनुसार गर्मीमा युवतीहरू नयाँ हेयर कट गर्न बढी रुचाउँछन्, जबकि जाडोमा धेरैजसोले केश लामो राख्न मन पराउँछन् । 

हेयर कट फेसन मात्र होइन अनुहारको बनोटअनुसार उपयुक्त हेयर स्टाइल छनोट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् । यहाँ गर्मीका लागि उपयुक्त केही चर्चित हेयर कटहरू प्रस्तुत गरिएको छ, जसले तपाईंको लुकलाई थप आकर्षक बनाउनेछ ।

गर्मीयामका लोकप्रिय हेयर कट

लेयर्ड बब : केस हल्का हुनेहरूका लागि यो कट उपयुक्त हुन्छ । यो कटले केसलाई घना देखाउने भएकाले गोलो र अण्डाकार अनुहार भएकाहरूलाई विशेष सुहाउँछ । वेस्टर्न तथा फ्युजन पहिरनमा फिट हुन्छ ।

मेसी बब : घना केस भएकाहरूका लागि यो कट सुहाउँछ । केस बाँध्न नपर्ने यो कट सर्ट ड्रेस, ट्राउजर वा जम्पसुटमा स्टाइलिस देखिन्छ ।

ग्रेजुएटेड बब : टिनएज युवतीहरूमा लोकप्रिय यो कटले केसलाई बाक्लो देखाउँछ । गोलो अनुहार र बाक्लो केस भएका व्यक्तिका लागि उपयुक्त हुन्छ । 

पिक्सी हेयर कट : यो कट छोटो केस मन पराउनेका लागि उत्कृष्ट विकल्प हुन सक्छ । पछाडि र साइड छोटो, माथिल्लो भाग लामो रहने यो कट क्रप हेयर कटकै रूप हो । यो कट वेस्टर्न ड्रेसमा आकर्षक देखिन्छ ।

ए सेप्ड ब्लन्ट : यो कट सिल्की केस हुनेहरूका लागि उपयुक्त हुन्छ । यो कटले अनुहारलाई जवान देखाउँछ ।

स्टेप कट : यो सोल्डर लेन्थसम्मको लम्बाइ चाहनेहरूका लागि सजिलो र सबै किसिमको पहिरनमा मिल्ने कट हो ।

हाई लो कट : पछाडि छोटो र अगाडि लामो केस राखी हल्का कर्भ दिइने यो कट हालको ट्रेन्डमा छ ।

These are the trendy hair cuts that are preferred in summer

अनुहारको बनोटअनुसार हेयर कट

ओभल (अण्डाकार) अनुहार : यो बनोट सबैभन्दा राम्रो मानिन्छ । यसमा जुनसुकै हेयर कट सुहाउने यो सेपमा विशेषगरी सोल्डर लेन्थ वेव्स, साइड स्वेप्ट, लङ बब, फुल फ्रिज हेयर कट सुहाउँछ ।

गोलो अनुहार : अनुहार पातलो देखाउन साइड पार्ट लेयर्ड, स्ट्रेट डिभाइन पार्ट, पिक्सी कट वा ग्रेजुएट बब उपयुक्त हुन्छ ।

स्क्वायर अनुहार : निधार र चिउँडो एकै चौडाइको हुने यो सेपमा स्लिक एन्ड स्ट्रेट, कलरबोन कट, लङ कर्ली ओमब्रे जस्ता कट राम्रो देखिन्छ ।

हार्ट सेप अनुहार : निधार चौडा र चिउँडो सानो हुने अनुहार बनोटमा डिप साइड स्वेप्ट फ्रिङ, फेस फ्रेमिङ, लुज वेव्स आदिले सन्तुलन ल्याउँछ ।

लामो अनुहार : ओभलभन्दा लामो अनुहारमा अनुहारको चौडाइ देखाउने कट उपयुक्त हुन्छ । जस्तै मल्टी लेयर्ड, कर्टेन वेग्स, स्यागी कट ।

डाइमन्ड अनुहार : निधारदेखि ज लाइनसम्म चौडाइ र चिउँडो लामो हुने अनुहार बनोटमा भोल्युम देखिने फेदर, स्लाइट वेव्स, साइड स्वेप्ट वेग्स कट आकर्षक देखिन्छ ।

आफूलाई सुहाउने हेयर कट कसरी छान्ने ?

अनुहारको सेप हेरी हेयर कट छान्दा लुक अझ निखारिन्छ । एकजनालाई सुहाएको हेयर कट सबैलाई सुहाउँछ भन्ने हुँदैन । त्यसैले अनुहारको आकार र केसको बनावट (टेक्स्चर) अनुसार निर्णय गर्नु उपयुक्त हुन्छ ।

कान्तिपुर

Link copied successfully