घरमा किन राम्राे भेन्टिलेसन चाहिन्छ ?

घरभित्र प्राकृतिक रूपमा ताजा हावा आउजाउ गराउन भेन्टिलेसन अनिवार्य छ

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Why do you need good ventilation at home?

काठमाडौँ — घर केवल चार दिवार सहितको संरचना मात्र होइन, यो भावनात्मक सम्बन्ध र शारीरिक स्वास्थ्यसँग जोडिएको स्थान पनि हो । हामीले अधिकांश समय घरमै बिताउने भएकाले घरभित्रको वातावरण स्वस्थ र स्वच्छ हुनु अत्यन्त जरुरी छ । यसका लागि भेन्टिलेसन अर्थात् वायुसञ्चारको विशेष भूमिका रहन्छ ।

घरभित्र प्राकृतिक रूपमा ताजा हावा आउजाउ गराउन भेन्टिलेसन अनिवार्य छ । त्यसैले, घर निर्माण गर्दा भेन्टिलेसनको स्थान र डिजाइनबारे पूर्वयोजना गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

भान्सादेखि बाथरुमसम्म भेन्टिलेसनको आवश्यकता
छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार, भान्सामा उत्पन्न हुने प्रदूषण निकै खतरनाक हुन्छ । खाना पकाउँदा निस्कने धूवाँ र ग्यासले फोक्सोलाई चुरोटभन्दा पनि बढी हानि गर्न सक्छ । ‘भान्सामा ताजा हावा आउजाउ गर्ने ठाउँ पर्याप्त हुनुपर्छ’ उनी भन्छन्, ‘शयनकक्षमा पनि भेन्टिलेसन नहुँदा दम, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिन सक्छ ।’

इन्टेरियर डिजाइनर सुशोभित रञ्जितकारका अनुसार, भान्सा र शयनकक्षमा भेन्टिलेसन अनिवार्य छ । भान्सामा खाना पकाउँदा निस्कने धूवाँ र तेलको रापले वातावरण दूषित बनाउँछ । त्यस्तै, शयनकक्षमा ७–८ घण्टा बिताउने भएकाले यहाँ ताजा हावाको आवागमन हुनैपर्छ । बाथरुममा पनि भेन्टिलेसनको अभावमा ग्यास हिटर प्रयोग गर्दा दुर्घटना हुने जोखिम रहन्छ । बैठक कक्ष र बालबालिकाको पढ्ने कोठामा पनि हावा आउजाउको व्यवस्था आवश्यक छ ।

कहाँ र कसरी राख्ने भेन्टिलेसन ?
सामान्यतः भेन्टिलेसन झ्याल वा ढोकाको माथिल्लो भागमा राखिन्छ, जसले घरको डिजाइनमा बाधा पुर्‍याउँदैन । आवश्यकताअनुसार भित्तामा पनि भेन्टिलेसन बनाउन सकिन्छ । तर, भेन्टिलेसन राख्दा सुरक्षा पनि महत्वपूर्ण हुन्छ । चोरी–डकैती, सर्प वा लामखुट्टे प्रवेशको जोखिम कम गर्न तारजाली प्रयोग गर्न सकिन्छ ।

सुरक्षित र आधुनिक डिजाइन
आधुनिक घरहरूमा झ्यालको डिजाइन नै यस्तो बनाइन्छ, जसले पर्याप्त हावा आउजाउ गर्न पाओस् । कतिपय अवस्थामा एसी, पंखा वा अन्य प्रविधिको प्रयोग गरेर पनि हावाको आवागमन सहज बनाइन्छ । वास्तु विज्ञानअनुसार पनि भेन्टिलेसनको स्थान निर्धारण गरिन्छ ।

भेन्टिलेसनका फाइदा
भेन्टिलेसनले घरलाई प्राकृतिक रूपमा स्वच्छ र ताजा राख्छ । यसले बाहिरी ताजा हावालाई भित्र ल्याउँछ भने घरभित्रको धूवाँ, धूलो र दूषित हावालाई बाहिर निकाल्छ । विज्ञहरूका अनुसार, भेन्टिलेसनको सही व्यवस्थाले घरको वातावरण स्वस्थ बनाउनुका साथै शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ ।

कान्तिपुर

Link copied successfully