कस्ताे साबुन, कसरी प्रयाेग गर्ने ?

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

What kind of soap, how to use?

काठमाडौँ — बजारमा अनेक रंग, फ्लेवर र मूल्यका साबुन पाइन्छन् । दैनिक जीवनमा  हात धुनदेखि नुहाउनका लागि साबुनको प्रयोग भइरहेको हुन्छ । साबुनले छाला सफा गर्नुका साथै भिटामिन एवं पोषक तत्त्व प्रदान गर्छन् । जसले गर्दा छाला स्वस्थ, मुलायम र नरम बन्छ ।

पछिल्लो समय जथाभावी साबुनको प्रयोग बढेको चिकित्सक बताउँछन् । छाला तथा यौन रोग विशेषज्ञ डा. रूपक घिमिरेका अनुसार आफ्नो छालाको बनोटअनुसार साबुनको प्रयोग गर्नु उचित हुन्छ । ‘धेरै व्यक्तिले विभिन्न विज्ञापन देखेर वा साथीहरूको सुझावमा साबुन प्रयोग गरेको पाइन्छ जुन गलत हो,’ उनी भन्छन्, ‘साबुन प्रयोग गर्दा आफ्नो छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ ।’

कस्तो साबुन प्रयोग गर्ने ?

–रुखो छाला भए प्रयोग गर्दा मोस्चराइजिङयुक्त साबुन प्रयोग गर्नुपर्छ । डा. रूपकका अनुसार धेरैले बासनादार साबुन प्रयोग गर्न मन पराउँछन् । उनका अनुसार बासनाका लागि प्रयोग गरिएको साबुन सबै प्रकारका छालाका लागि सुट नहुन सक्छ । छालाका लागि फिँज आउने साबुन उपयुक्त हुन्छ । छालामा विभिन्न तेलग्रन्थी हुन्छन्, तिनले विभिन्न किसिमका तेल उत्पादन गरिरहेका हुन्छन् । तेल हटाउनका लागि फिँज आउने साबुन प्रयोग गर्नुपर्छ । साबुनमा प्रयोग भएको हानिकारक रसायनले छाला फुस्रो बनाउनुका साथै प्राकृतिक तेललाई समेत नष्ट गर्छ ।

–साबुनमा विभिन्न किसिमका रसायन प्रयोग गरिएको हुन्छ, जसले गर्दा छाला सुख्खा र फुस्रो हुन्छ । छालालाई नरम र मुलायम बनाउनका लागि मोस्चराइजयुक्त साबुन प्रयोग गर्नुपर्छ । मोस्चराइजरयुक्त साबुनले नुहाएपछि छाला सुक्खा हुन दिँदैन ।

–हर्बल साबुन केमिकलमुक्त हुने भएकाले यसको प्रयोग संवेदनशील छाला भएकाका लागि राम्रो मानिन्छ । यसमा स्थानीय जडिबुटीको प्रयोग हुने भएकाले छालालाई नराम्रो असर गर्दैन । यसको प्रयोगले छाला मुलायम हुन्छ, चिल्लोपना बनाइराछ र एलर्जी आदि समस्या निम्त्याउँदैन ।

प्रयोगमा सावधानी

–अनुहारको छालामा साबुनको प्रयोग नगर्ने

–रसायनयुक्त साबुनको प्रयोगबाट बच्ने

–बासनादार साबुन नरोज्ने

–धेरै मात्रामा साबुनको प्रयोग नगर्ने

–साबुनको सबै विज्ञापनमा विश्वास नगर्ने

–छालाअनुसारको साबुन प्रयोगमा ध्यान दिने  

कान्तिपुर संवाददाता

Link copied successfully