काठमाडौँ — गर्मी मौसममा सही पहिरनको छनोटले फेसनेबल देखिनुका साथै गर्मीबाट जोगिन पनि मद्दत गर्छ । फेसन डिजाइनरहरूका अनुसार मौसमअनुसार पहिरन शैलीमा परिवर्तन गर्नु आवश्यक छ । यो मौसममा सुती, खादी र सिफनजस्ता हल्का फेब्रिकका पहिरनले आराम र शीतलता प्रदान गर्छ ।
फेसन डिजाइनर राधा आचार्यका अनुसार गर्मीमा गाढा रङका कपडा लगाउनु हुँदैन, किनकि यिनले घामको किरण सोस्छ । हल्का रङ जस्तै: सेतो, लेमन, लाइट पिंक र पिचले घामको किरण परावर्तन गरी शरीरलाई शीतल राख्छ ।
फेसन डिजाइनर राजेश धाख्वाले प्राकृतिक फेब्रिकजस्तै सुतीको कपडा लगाउन सुझाव दिए । उनी भन्छन्, ‘सुतीले पसिना सोस्छ र छालामा संक्रमणको जोखिम कम गर्छ ।’ प्राकृतिक धागोबाट बनेका कपडाले सूर्यको हानिकारक परावैजनी किरणबाट पनि सुरक्षा प्रदान गर्छ ।
गर्मीमा हल्का र खुकुलो पहिरन रोज्नुपर्ने डिजाइनर धाख्वाको सुझाव छ । ‘फिटिङ कपडाले शरीर पातलो देखाए पनि गर्मीमा असहज हुन्छ,’ उनी भन्छन्, ‘यस्ता कपडाले पसिना सोस्दैन, दुर्गन्ध र छाला संक्रमणको जोखिम भने बढाउँछ ।’ स्लिभलेस र छोटो पहिरनले घामको किरणबाट छालालाई हानि पुर्याउन सक्छ, जसले छालाको क्यान्सरको जोखिम पनि निम्त्याउँछ । त्यसैले शरीर ढाक्ने पहिरन लगाउन डिजाइनरहरू सल्लाह दिन्छन् ।
फ्लोरल प्रिन्ट र सदाबहार फेसन
पछिल्लो समय फ्लोरल प्रिन्टका पहिरन गर्मीमा लोकप्रिय छन् । यस्ता पहिरनले शीतलता प्रदान गर्छ । डिजाइनर राधाका अनुसार जिन्सजस्ता सदाबहार पहिरन जुनसुकै मौसममा उपयुक्त हुन्छ । तर सिल्क, नाइलन, भेल्भेट र साटनजस्ता भारी फेब्रिकबाट बच्नुपर्छ, किनकि यिनले हावा प्रवाहमा बाधा पुर्याउँछ ।
केश र छालाको सुरक्षा
गर्मीमा सूर्यको किरणले केश र छालालाई हानि पुर्याउँछ । स्कार्फ, क्याप वा हृयाटको प्रयोगले केशलाई घाम र धुलोबाट जोगाउन सकिन्छ । छाताको प्रयोगले पूरै शरीरलाई शीतलता प्रदान गर्छ । ‘छाता र हृयाटले फेसनमा थप स्टाइल पनि दिन्छ,’ राधाले भनिन् ।
गर्मीको मौसममा फेसनेबल देखिन र स्वस्थ रहन सही फेब्रिक, हल्का रङ र खुकुलो पहिरनको छनोट आवश्यक छ । प्राकृतिक फेब्रिक र हल्का डिजाइनले गर्मीमा आराम र शीतलता प्रदान गर्छ । डिजाइनरको सुझावअनुसार मौसमअनुकूल पहिरनले फेसन र स्वास्थ्य दुवैको ख्याल राख्छ ।
