काठमाडौँ — छालाको रोमछिद्र (पोर्स) खुला वा ठूलो देखिनु स्वाभाविक हो, तर राम्रो हेरचाह गरिएन भने छालामा तेल, फोहोर र ब्ल्याकहेड्स जम्न सक्छ । यसले छालालाई अस्वस्थ देखिन्छ । बाहिरी प्रदूषण र गलत खानपानको कारण पोर्समा फोहोर जम्छ ।
अनुहारको छालामा भएका ठूला रोम छिद्रले बुढ्यौलीको संकेत पनि देखाउँछ । स्वस्थ र चम्किलो छालाको लागि समयमै राम्रो हेरचाह गर्न आवश्यक छ । ब्युटिसियन शारदा तामाङका अनुसार छाला स्वस्थ, चम्किलो र सफा बनाउन यी टिप्स अपनाउन सकिन्छ ।
ब्ल्याकहेड्स हटाउने
ब्ल्याकहेड्स पोर्स पुरिन सक्छ । जसले अनुहारमा दाग बस्ने सम्भावना बढाउँछ । त्यसैले अनुहारलाई स्टिम दिएर पोर्स खोल्नुपर्छ । स्टिम दिइसकेपछि हल्का मसाज गर्दै ब्ल्याकहेड्स हटाउनुपर्छ । त्यसपछि बेकिङ सोडा वा फ्रुट पिल मास्क प्रयोग गर्न सकिन्छ ।
अनुहार सफा राख्ने
धुलो र तेलको कारण पोर्समा फोहोर जम्न सक्छ । त्यसैले नियमित रुपमा अनुहार सफा पानीले धुनुपर्छ । हल्का प्रकारको फेसवास प्रयोग गर्नुपर्छ । अनुहार धुने बेला तातो होइन, चिसो वा हल्का मनतातो पानी प्रयोग गर्नुपर्छ । ओपन पोर्स भएकाहरुले धेरै क्लिन्जिङको प्रयोग गर्नुहुँदैन । यसले छालामा भएको प्राकृतिक तेल नष्ट गरिदिन्छ ।
स्क्रब गर्ने
स्क्रबिङ गर्दा छालाको मृत कोषिका हट्छन्, जसले पोर्स सफा राख्न मद्दत गर्छ । सातामा २–३ पटक स्क्रब गर्न सकिन्छ । स्क्रब प्रयोग गर्दा नरम प्रयोग गर्नुपर्छ जसले गर्दा छालामा क्षति पुग्दैन । धेरै स्क्रबले छाला रगड्दा समस्या झन् बढ्न सक्छ । त्यसैले हल्का हातले स्क्रबिङ गर्नुपर्छ ।
टोनर प्रयोग गर्ने
स्क्रबिङपछि टोनर प्रयोग गर्दा पोर्स सानो देखिन्छ र छालालाई कसिलो राख्न मद्दत गर्छ । त्यसका लागि गुलाब जल वा एलोभेरायुक्त टोनर उपयुक्त हुन्छ । टोनरले छालाको पीएच स्तरलाई सन्तुलित राख्छ ।
मोस्चराइजरको प्रयोग
खुल्ला पोर्सलाई बन्द गर्नका लागि लाइट मोस्चराइजर प्रयोग गर्नुपर्छ । यसले छालालाई हाइड्रेट राख्छ र समस्याबाट पनि छुटकारा मिल्छ ।
छालालाई स्वास फेर्न दिने
गाढा मेकअप वा हेभी कम्प्याक्ट पाउडरले पोर्सलाई ब्लक गर्न सक्छ । सकेसम्म कम मेकअप गर्नुपर्छ । हेभी मेकअपपछि सुत्नुअघि अनिवार्य रूपमा सफा गर्नुपर्छ । छालालाई सास फेर्न दिन प्राकृतिक फेस मास्क वा एलोभेरा जेल प्रयोग गर्न सकिन्छ ।
