काठमाडौँ — स्वस्थ जीवनका लागि शारीरिक साथसाथै मानसिक स्वास्थ्य पनि राम्रो हुन आवश्यक छ । मानसिक स्वास्थ्य भन्नाले मानसिक र सामाजिक रूपमा स्वस्थ हुनु हो । मानसिक रूपमा स्वस्थ मानिसले आफ्ना भावना बुझ्न, व्यक्त गर्न र नियन्त्रण गर्न सक्ने क्षमता राख्छ ।
मानसिक स्वास्थ्यलाई असर गर्ने धेरै कारण हुन्छन् । जसमध्ये केही नियन्त्रण गर्न सकिन्छ, केही सकिँदैन । त्यसैले मानसिक स्वास्थ्यका लागि अपनाउनुपर्ने दैनिकी यस्ता छन् :
पर्याप्त निद्रा
पर्याप्त मात्रामा निदाउनु शारीरिक स्वास्थ्यका लागि मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि आवश्यक छ । अमेरिकामा सन् २०२१ मा २ लाख ७३ हजार ६ सय ९५ वयस्कमा एउटा अध्ययन गरिएको थियो । अध्ययनअनुसार प्रतिदिन औसत ६ घण्टा वा त्यसभन्दा कम सुत्ने व्यक्तिभन्दा ६ घण्टाभन्दा बढी सुत्ने मानसिक रूपमा स्वस्थ थिए । ६ घण्टाभन्दा कम सुत्नेले २.५ गुणाभन्दा बढी मानसिक तनावको अनुभव गर्ने सम्भावना देखिएको थियो ।
सामाजिक सञ्जालको नियन्त्रित प्रयोग
सामाजिक सञ्जालमा निरन्तर नयाँ कुरा आइरहन्छन् । कहिलेकाहीँ अरू मानिसको जीवनका कुरा जान्दा, आफूलाई अन्यसँग तुलना पनि गरिन्छ, जसले आफूलाई कमजोर छु भन्ने भान पार्छ । त्यसैले सामाजिक सञ्जालले नै हामीलाई एन्जाइटी र डिप्रेसनजस्ता समस्या निम्ताउन सक्छ ।
यस्तो अवस्थामा फोनलाई आफ्नो पहुँचबाट टाढा राख्ने गर्नुपर्छ । सामाजिक सञ्जाल चलाउने समयमा गर्न सकिने वैकल्पिक र अर्थपूर्ण कामको सूची बनाउन सकिन्छ । सामाजिक सञ्जालको नोटिफिकेसन बन्द गर्ने वा अनावश्यक एप डिलिट गर्नुपर्छ ।
सामाजिक सम्बन्ध बलियो बनाउने
मानिस सामाजिक प्राणी भएकै कारण सामाजिक सम्बन्धले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्छ । सम्बन्धले एक्लो महसुस हुन दिँदैन, भावनात्मक सहयोग प्रदान हुन्छ र हाम्रो जीवनमा अर्थ पनि थप्छ । यसले मानिसको मानसिक स्वाथ्य राम्रो बनाउँछ ।
शारीरिक व्यायाम गर्ने
शारीरिक व्यायामले तनाव कम गर्छ । मुड राम्रो बनाउँछ । निदाउन सहज बनाउँछ साथै गहिरो निद्रा पार्न सहयोग गराउँछ । नियमित व्यायामले डिप्रेसन र एन्जाइटी कम गराउँछ । व्यायाम व्यक्तिअनुसार फरक हुन सक्छ । आफ्नो शरीर र स्वास्थ्य सुहाउँदो व्यायाम गर्नु उचित हुन्छ ।
पोषणयुक्त खानेकुरा खाने
कुनै खानेकुराले हाम्रो मानसिक स्वास्थमा असर गर्न सक्छ । मुड राम्रो गराउने खानेकुरालाई आफ्नो डाइटमा राख्नुपर्छ । जस्तै बेरिज, केरा, गेडागुडी, स्यालमन माछा आदि ।
यस्ता खानेकुराले हाम्रो शरीरलाई आवश्यक पोषण दिनु साथै मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै पर्याप्त मात्रामा पानी पिउनु र जंक फुड नखानु पनि मानसिक स्वास्थ्यका लागि राम्रो हो ।
आराम गर्ने समय निकाल्ने
आराम गर्ने तरिका व्यक्तिपिच्छे फरक हुन सक्छ । सामान्यतया आराम गर्नुको अर्थ शरीर र मनलाई शान्त गराउनु हो । समय समयमा मानिसलाई आराम पनि चाहिन्छ ।
घाम ताप्ने
घाम भिटामिन डी'को राम्रो सोर्स हो । अध्ययनअनुसार भिटामिन डी'ले हाम्रो मुड राम्रो बनाउन सहयोग गर्छ । दिउँसो घाम ताप्ने समय नभएमा बेला बाहिरी फ्रेस हावा भए पनि लिन आवश्यक हुन्छ ।
(हेल्थलाइनमा मार्गारिटा टार्टाकोभिस्कीद्वारा लिखित 'मेडिकल्ली रिभ्युड' आर्टिकलमा आधारित)
