काठमाडौँ — आफूले हासिल गरेका वित्तीय ज्ञान, सीपलाई व्यवहारमा उतार्नु, आफ्नो स्रोतलाई जिम्मेवार र विवेकपूर्ण तवरले व्यवस्थापन र नियन्त्रण गर्नु नै वित्तीय अनुशासन हो ।
वित्तीय अनुशासनले आम्दानी, खर्च, बचत र लगानीको सुनिश्चितता प्रदान गर्छ । वित्तीय अनुशासनले आफ्नो वित्तीय लक्ष्य हाासिल गर्नमा मद्दत पुर्याउँछ ।
वित्तीय अनुशासन कसरी कायम गर्ने ?
- नियमित रूपमा पारिवारिक बजेट निर्माण गर्ने । योजनानुसार बचतलाई प्राथमिकतामा राखी आवश्यकतानुसार खर्च गर्ने ।
- वित्तीय लक्ष्य निर्धारण गरेर आम्दानीको एक नियमित अंश छुट्याई बचत गर्ने ।
- नियमित रूपमा बजेटको समीक्षा गर्ने ।
- खर्चका विभिन्न शीर्षकको पुनरावलोकन गर्ने र लक्ष्य प्राप्तिको लागि आवश्यक समायोजन गर्ने ।
- वित्तीय लक्ष्य, बजेट, नियमित बचत, वित्तीय समस्या र समाधानका बारे परिवारभित्र छलफल गर्ने ।
- खर्चको प्राथमिकता तय गर्ने र कर्जा लिएको भए सोको भुक्तानीमा बहानाबाजी वा विलम्ब नगर्ने ।
- बुद्धिमानीपूर्वक लगानी गर्ने, जोखिम बहन गर्न सक्ने क्षमता र वित्तीय लक्ष्यको आधारमा उपयुक्त लगानीका अवसरहरुको खोजी गर्ने ।
- जोखिम कम गर्न स्वास्थ्य, सम्पत्ति र जीवनको लागि पर्याप्त बिमा गर्ने ।
- आफूले जानेका वित्तीय ज्ञान र सीपलाई व्यवहारमा उतार्ने र आफ्ना वित्तीय योजनामा अडिग रहने ।
(नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकमा आधारित)