किन गन्हाउँछ सास ?

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Why does the breath smell?

काठमाडौँ — सास गन्हाउने समस्याले धेरैलाई सताउने गर्छ । मुख गन्हाउनुका धेरै कारण हुन सक्छन्, जसमध्ये प्याज, लसुनजस्ता खानेकुराको सेवन, पेटसम्बन्धी समस्या, मधुमेह, एसिडिटीलगायत स्वास्थ्य अवस्था मुख्य हुन् ।

दाँतको सरसफाइको कमी, दाँत किराले खाइरहेको अवस्था र बुद्धिबंगाराको समस्याले पनि सास गन्हाउन सक्छ । पेरोडोन्टल पकेट, जिन्जिभाइटिस तथा पेरिडोन्टाइटिसका कारण पनि मुख गन्हाउन सक्छ ।

गिजाको समस्या
गिजामा समस्या हुँदा पनि मुख गन्हाउने समस्या देखिन सक्छ । गिजा सुन्निएको अवस्थामा त्यहाँ खानेकुरा अड्किन सक्छ, जसले संक्रमण निम्त्याउँछ । यस्तो अवस्थामा ‘पेरोडोन्टल पकेट’ बन्न सक्छ, जसमा स–साना जीवाणु बस्न थाल्छन् । यसले गर्दा ब्रस गर्दा वा खाना चपाउँदा गिजाबाट रगत आउन सक्छ ।

सरसफाइको कमी
मुखको सरसफाइ नगर्नु वा गलत तरिकाले ब्रस गर्नु मुख गन्हाउने अर्को मुख्य कारण हो । दाँतबीच जम्मा हुने फोहोर हटाउन ‘डेन्टल फ्लस’ को प्रयोग गर्नुपर्छ । कतिपयले सिन्का वा टुथपिक प्रयोग गरेर दाँत सफा गर्ने गर्छन्, तर यसले दाँतबीच ग्याप बढाएर झन् समस्या निम्त्याउन सक्छ । प्रत्येक ६ महिनामा दन्त चिकित्सककहाँ गएर दाँत सफा गराउनु महत्वपूर्ण हुन्छ ।

माउथ फ्रेसनर कति प्रभावकारी ?
मुख गन्हाउने समस्यामा माउथ फ्रेसनर उपयोगी भए पनि, यो अस्थायी समाधान मात्र हो । यदि दाँत राम्ररी सफा गरिएको छैन भने माउथ फ्रेसनरले केही समयका लागि मात्र गन्ध हटाउँछ । तर जमेका फोहोर हटाउन सक्दैन । त्यसैले मुखको सरसफाइलाई प्राथमिकता दिनु आवश्यक छ ।

- सिड्नी डेन्टलमा कार्यरत डा. शक्ति शर्मासँग गरिएको कुराकानीमा आधरित । 

कान्तिपुर

Link copied successfully