काठमाडौँ — गर्भावस्थामा योग गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसले आमालाई मात्र होइन, गर्भको शिशुलाई पनि फाइदा पुर्याउँछ । यस अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन्, जसका कारण उनीहरू विभिन्न शारीरिक र मानसिक चुनौती सामना गर्छन् । यस्ता समस्याबाट छुटकारा पाउन योग, प्राणायाम र ध्यान प्रभावकारी उपाय हुन् ।
गर्भावस्थामा नियमित योग अभ्यास गर्दा प्रसव पीडा कम हुन्छ, मांसपेशी बलियो हुन्छ र स्तनपान क्षमतामा वृद्धि हुन्छ । साथै, श्वासप्रश्वास प्रणाली मजबुत हुने भएकाले प्रसवपछि महिलाले छिटो ऊर्जा पुनः प्राप्त गर्छन् ।
पूर्वप्रसव योग गर्भवती महिलाका लागि अत्यन्त लाभदायक हुन्छ । यसले शारीरिक मात्र नभई मानसिक रूपमा पनि आमालाई प्रसवका लागि तयार गराउँछ । नियमित प्राणायाम र योग अभ्यास गर्दा प्रसव सजिलो हुनुका साथै शरीरका प्रमुख मांसपेशी बलियो बन्छन्, जसले गर्दा महिलाले सहज रूपमा मातृत्वको यात्रा तय गर्न सक्छन् ।
पूर्वप्रसव योग एकदमै लाभदायक हुन्छ । यसले उनीहरुलाई शारीरिक र भावनात्मक रुपले प्रसवको लागि तयार रहन सहयोग गर्छ । प्रसवअघिको योग, प्राणायामले प्रसवको पीडाबाट सजिलै मुक्त गराउँछ । साथसाथै मांशपेशीलाई पनि बलियो बनाउँछ । विभिन्न शारिरीक समस्यासँग जुधिरहेकाले भने चिकित्सक वा 'सर्टिफाइड' योग शिक्षकसँग परामर्श गरेर मात्रै योग गर्नु उचित हुन्छ ।
ताडासन
गर्भवती महिलाका लागि ताडासन योग धेरै लाभदायक हुन्छ । यसले मेरुदण्डको हड्डी बलियो बनाउनुको साथै ढाड दुख्ने समस्याबाट पनि राहत पुग्छ । यस आसन गर्भावस्थाको सुरुको ६ महिनासम्म गर्न सकिन्छ ।
शवासन
शवासन गर्दा गर्भवतीलाई तनावबाट मुक्ति मिल्छ । यस आसन गर्दा गर्भमा हुर्कंदै गरेको बच्चाको विकासमा फाइदा पुग्छ । गर्भवतीले नियमित रुपमा यो आसन गर्न सक्छिन् ।
वीरभद्रासन
वीरभद्र आसनलाई वारियर पोज पनि भनिन्छ । यस आसन गर्दा हात, काँध, जाँघ एवं कम्मरको मांसपेशी बलियो हुन्छ । गर्भावस्थामा उच्च रक्तचापको समस्या भएमा यो आसन गर्नाले राहत मिल्छ ।
मार्जरी आसन
यो आसन ‘क्याट पोज’ का नामले पनि प्रचलित छ । यस आसनले मेरुदण्डमा तागत र शरीरमा लचिलोपन ल्याउँछ । रक्तसञ्चार राम्रो हुनुको साथै पाचन प्रणाली पनि राम्रो बन्छ ।
कोणासन
मेरुदण्डको हड्डी मजबुत बनाउनका लागि कोणासन उपयुक्त आसन हो । यस आसनले रक्तसञ्चार वृद्धि हुन्छ । नियमित यो आसन गर्नाले शरीर स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता बढ्छ । गर्भावस्थामा हुने कब्जियतबाट पनि छुटकारा मिल्छ ।
भट्टराई जीवन विज्ञान योग केन्द्र, गठ्ठाघरकी शिक्षक हुन् ।
