आकर्षक र सुन्दर नङ बनाउन यस्ता छन् विकल्प 

फाल्गुन २२, २०८१

आरती पौडेल

These are the options to make attractive and beautiful nails

काठमाडौँ — नङ राम्रो र आकर्षक बनाउने चाहना धेरैको हुन्छ । लामो, सुन्दर र आकर्षक नङ बनाउन नेल आर्ट, नेल एक्सटेन्सन गर्ने विकल्प पनि छन् । 

कस्तो कलर र कस्तो आकार र शैलीको नङ बनाउने ? यसका लागि नेल आर्टिस्टहरु हाजिर छन् । 

पार्लर  र नेलआर्ट स्टुडियोमा न्यूनतम एक हजारदेखि माथि ५/६ हजार रुपैयाँसम्ममा नेल आर्ट, नेल एक्सटेन्सन गर्न सकिन्छ । तर यसको शुल्क भने ठाउँ र सेवाको गुणस्तर अनुसार फरक-फरक छ । डिजाइन, स्टोन , ग्लिटर, आर्ट र सेपका आधारमा मूल्य निर्धारण हुने सौन्दर्यकर्मी सीया तिवारी बताउँछिन् । 

उनका अनुसार स्टोन र ग्लिटरले नङलाई अझै बढी आकर्षक देखाउँछ । नेल एक्सटेन्सन ब्युटिपार्लर, नेल आर्ट स्टुडियोमा र घरमै पनि सामान किनेर गर्न सकिन्छ । नेल एक्सटेन्सन गर्दा आफ्नो इच्छाअनुसार राउन्ड सेप, स्क्वाएर सेप,आल्मोन्ड सेप, लिपस्टिक सेप,स्क्वोभल सेप,ओभल सेपलगायत विभिन्न सेप दिन सकिन्छ ।

नेल एक्सटेन्सन गर्ने बेला मेनीक्योर, पेडीक्योर गरिन्छ । यस क्रममा हात, खुट्टाका डेड सेल र नङमा जमेको फोहोर फालेर डिप क्लिन गरिन्छ । यसो गर्नाले नङलाई सफा र स्वस्थ्य राख्न मद्दत पुग्छ । 

सौन्दर्यकर्मी ममता गुरुङ भन्छिन्, ‘नेल एक्सटेन्सन वा नेल आर्ट गर्दा नङ सुन्दर र आकर्षक देखिन्छ । यसले सुन्दरता मात्रै होइन महिलाको आत्मविश्वास बढाउन पनि सघाउँछ ।’ 

नेलएक्सटेन्सका पनि विभिन्न तरिका छन् । एक्रिलिक एक्सटेन्सन, जेल एक्सटेन्सन, जेल ओभरले एक्सटेन्सन, जेल पोलिस एक्सटेन्सन, प्रेस अन नेल्स, पोलिजेल अहिले प्रचलनमा छन् । सौन्दर्यकर्मी तिवारीको अनुभवमा एक्रिलिक एक्सटेन्सन पातलो नङ हुनेहरुका लागि खासै उपयुक्त हुँदैन । 

नङको राम्रो स्याहार गर्ने हो भने एकपटक एक्सटेन्सन गरेपछि  ४ सातासम्म सजिलै जोगाउन सकिन्छ । कतिपयमा नङ भाँच्चिने, राम्रोसँग नङ नपलाउने हुन्छ । त्यसबाट छुटकारा पाउन पनि नेल एक्सटेन्सन अनिवार्य हुने सौन्दर्यकर्मी बताउँछन् ।

विवाह, व्रततबन्ध, पार्टी, विभिन्न चाडपर्व र उत्सवहरुमा विशेषगरी महिला नेल एक्सटेन्सन गर्न अझै बढी रुचाउँछन् । जसलाई फेसन ट्रेन्डमा, नेल आर्टमा रुचि छ उनीहरु सेल्फ केयरको लागि पनि यसका लागि आउने सौन्दर्यकर्मी ममता गुरुङ बताउँछिन् । 'विशेषगरी टिनेजरहरु टिकटक र इन्स्टाग्राममा डिजाइन हेरेर सेलिब्रिटीको नेल जस्तै बनाउने ट्रेन्ड फलो गर्छन् । जो स्मार्ट र स्टाइलिस देखिन रुचाउँछन्, उनीहरु नेल एक्सटेन्सन गर्छन् । 

(प्रशिक्षार्थी)

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully