सुत्केरीले के खाने, के नखाने ?

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

What to eat, what not to eat?

काठमाडौँ — महिलालाई गर्भावस्थामा जत्तिकै सुत्केरी अवस्थामा पनि पोषणको महत्व हुन्छ । यतिबेला महिलाको शरीरलाई पुन: स्वस्थ बनाउन, दूध उत्पादन गर्न साथै बच्चाको सही विकासका लागि पोषण चाहिन्छ । सुत्केरी अवस्थामा महिलाको शरीरमा थुप्रै शारीरिक, हर्मोनल र मानसिक परिवर्तन हुन्छन् । जसकारण महिलालाई यतिबेला धेरै ऊर्जा र पोषणको आवश्यकता पर्छ । स्तनपान गराइरहेकी आमाको आहारले दूधको गुणस्तर र मात्रामा प्रभाव पार्छ ।

सुत्केरी अवस्थामा आमाको पोषण गर्भावस्थामा भन्दा पनि बढी हुने गर्छ । पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने भएकाले सामान्य अवस्थामा भन्दा थप दैनिक ६ सय क्यालोरी आवश्यक पर्छ । त्यसैगरी, सातदेखि बाह्र महिनासम्मको समयमा बच्चलाई आमाको दूधसँगै अन्य खानेकुरा दिइने भएकाले थप पाँच सय क्यालोरी आवश्यक पर्छ । यदि महिला कुपोषित छिन् भने सोहीअनुसारको क्यालोरी थप गर्नुपर्छ । 

प्रोटिन
सुत्केरी अवस्थामा प्रोटिनयुक्त आहार नियमित रुपमा लिनुपर्छ । प्रोटिन शरीर मर्मत, दूध उत्पादन, प्रतिरक्षा सुधार र शिशुको वृद्धि तथा विकासको लागि महत्वपूर्ण छ । यसको मुख्य स्रोत अण्डा, मासु, माछा, गेडागुडी, दाल, दूध र दुधजन्य परिकार हो । 

आइरन
सुत्केरीले प्रसवका बेला गुमाएको रगत पुन: पूर्ति गर्न आइरनको आवश्यकता पर्छ । आइरनले रगतमा हेमोग्लोबिन पनि बनाउने काम गर्छ, जसले अक्सिजन शरीरको विभिन्न भागमा पुर्‍याउँछ । यसका लागि भिटामिन सीयुक्त फलसँग खाने गर्नुपर्छ । आइरनको मुख्य स्रोत रातो मासु, माछा, अण्डा, पालुंगोको साग, रायो साग हुन् । 

क्याल्सियम
सुत्केरी हुँदा महिलाको शरीरमा भएको क्याल्सियमको स्तर दूध उत्पादनमा प्रयोग हुन्छ । यो समयमा पर्याप्त क्याल्सियमको सेवनले आमा र शिशु दुवैको स्वासथ्यलाई फाइदा पुर्‍याउँछ । आमाको हड्डी बलियो बनाउने, मांशपेशीको स्वास्थ्यमा सुधार गराउनुको साथै रक्तचाप नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । क्याल्सियमयुक्त आहार भिटामिन डीसँग सेवन गर्नाले शरीरले क्याल्सियमलाई राम्रोसँग अवशोषण गर्छ । क्याल्सियमका मुख्य स्रोत डेरी उत्पादन, हरियो सागसब्जी, तिल, चिया सिड्स आदि हुन् ।

भिटामिन डी
सुत्केरी अवस्थामा भिटामिन डीको सेवन अत्यन्तै आवश्यक छ । किनभने यसले क्याल्सियमको अवशोषणमा सहयोग पुर्‍याउँछ । यसले आमा र शिशुको हड्डी बलियो बनाउन सहयोगी भूमिका खेल्छ । भिटामिन डीको मुख्य स्रोत सूर्यको प्रकाश, माछा, अण्डा र विशेषगरी घाममा सुकाइएको च्याउ लगायतका खानेकुरा हुन् ।

जिंक
यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन, दूध उत्पादन, थकान कम गर्न, घाउ निको पार्न मद्दत पुर्‍याउँछ । जिंकको मुख्य स्रोत माछा, मासु, दाल, सिमी, चना, बदाम, काजु, फर्सीको विाया, दुध, दही, पनिर हुन् ।

अमेगा ३ फ्याटी एसिड
सुत्केरी आमाको स्वास्थ्य सुधार गर्न र शिशुको मस्तिष्क तथा आँखाको विकासका लागि यो महत्वपूर्ण मानिन्छ । यसकाे मुख्य स्रोत चिया सिड्स, आलस, ओखर, माछा (टुना, सालमन) हो । 

म्याग्नेसियम
प्रसवपछिको अवधिमा म्याग्नेसियम अत्यन्तै महत्वपूर्ण हुन्छ । यसले हाइड्रेसनमा सहयोग पुर्‍याउँछ । रक्तचाप नियन्त्रण, पोस्पार्टम डिप्रेसनको जोखिम कम र निन्द्रामा सुधार ल्याउँछ । यसको मुख्य स्रोत सोयाबिन, हाडे बदाम, काजु, बदाम, फर्सीको बियाँ, पिनट बटर, तोफु, एभोकाडो आदि हुन् । त्यससँगै, आयोडिन, भिटामिन बी, भिटामिन बी ६, भिटामिन १२,  भिटामिन बी ९ र अन्य पोषक तत्व पनि आवश्यक हुन्छ । 

- पोषणविद् सृष्टि श्रेष्ठसँगको कुराकानीमा आधारित

कान्तिपुर

Link copied successfully