डार्क सर्कलबाट कसरी पाउने छुटकारा ?

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

How to get rid of dark circles?

काठमाडौँ — आँखा वरीपरी आउने कालो घेराले अनुहारको सौन्दर्य नै बिगार्छ । मोबाइल वा कम्प्युटरमा धेरै समय हेर्ने बानीले पनि आँखा वरिपरि कालो बस्छ । प्रदूषण र घाम अनुहारको सौन्दर्य बिगार्ने मुख्य कारक मानिन्छ ।

प्रदूषणका कारण अनुहारमा विभिन्न किसिमका समस्या देखा पर्छन् । आँखाको मुनिको भागमा (डार्क सर्कल) कालो घेरा आएपछि पूरै अनुहारको सौन्दर्य बिगार्छ । डार्क सर्कल थकान, निद्रा पूरा नहुँदा र बढ्दो उमेरको कारण पनि आउँछ । डार्क सर्कल छोप्नका लागि मेकअपको सहायता लिए पनि यो स्थायी समाधान भने होइन ।

कारण
डार्क सर्कल दुईवटा कारणले आउँछन् । एउटा रोग भएर र अर्को रोग नभएर । घाम वा कस्मेटिक एलर्जी हुनेहरूको पनि डार्क सर्कल आउँछ । त्यसैगरी आँखाको समस्या भएका र चस्मा लगाउनैपर्ने मानिसलाई पनि यो समस्या आउन सक्छ । थाइराइड र रक्तअल्पता हुँदा पनि डार्क सर्कल आउन सक्छ ।
डार्क सर्कल आउने मुख्य कारण भनेको वंशानुगत हो । यदि परिवारमा कसैलाई डार्क सर्कल भए अरुलाई पनि हुने सम्भावना बढी हुन्छ ।

अनुहारको बनावटका कारण पनि धेरैलाई डार्क सर्कलको समस्याले सताएको हुन्छ । नाक चुच्चो र आँखा गाडिएकाहरूको आँखामुनि आासु जम्ने खाल्डो भइदिन्छ । त्यहाँ रक्तनलीहरू बढी हुन्छन् । त्यसकारण रगत जम्मा हुन्छ र कालो हुन्छ । मोबाइल वा कम्प्युटरमा लामो समयसम्म बस्दा आँखा वरिपरि कालो बस्छ । त्यसबाहेक धेरै घाममा हिँड्ने, पानी कम खाने, धूम्रपान गर्ने मानिसको आँखाको वरिपरि गाजल लगाउने, केशमा मेहन्दी वा कुनै रंग लगाउँदा डार्क सर्कल आउँछ । पिरियड भएका बेला, पोषणको कमी, अनिद्राको समस्या भएकाहरूलाई पनि डार्क सर्कल आउन सक्छ ।

उपचार
डार्क सर्कलको उपचार गर्नुभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ । शरीरको आवश्यकतानुसार पानी पिउनुपर्छ । घाममा धेरै नहिँड्ने, हिँड्नैपरे सनग्लास, स्कार्फ र छाताको प्रयोग गर्नुपर्छ । रोगका कारण डार्क सर्कल आइरहेको छ भने त्यसको उपचार गराउनुपर्छ । अनुहारलाई सुख्खा हुन दिनुहुँदैन । नियमित मोस्चराइजरको प्रयोग गर्नुपर्छ । आँखाका लागि छुट्टै मोस्चराइजर पाइन्छ । त्यही मोस्चराइजर लगाउनुपर्छ । अन्य मोस्चराइजर आँखामा पर्दा पोल्न सक्छ । त्यसबाहेक डार्क सर्कलका लागि मल्हम पाइन्छ । त्यो चिकित्सकको सल्लाहअनुसार लगाउनुपर्छ ।

पछिल्लो समय डार्क सर्कलको उपचारका लागि विभिन्न प्रविधि भित्रिएका छन् । त्यसबाट उपचार गराउन सकिन्छ । पिलिङ, लेजर थेरापी, पिआरपी, हाइफो यसका उपचार विधि हुन् । यीमध्ये सबैभन्दा प्रभावकारी डर्मा फिलर हो । यो निकै प्रचलित उपचार पद्धति पनि हो ।

खर्च कति ?
पिलिङ गर्नका लागि दुईदेखि तीन हजार रुपैयाँ लाग्छ । यसले तुरुन्तै रिजल्ट दिन्छ । पिआरपी गर्न पााचदेखि छ हजार रुपैयाँसम्म लाग्छ । डर्मा फिलर गर्नका लागि ३०देखि ६० हजार रुपैयाँसम्म लाग्छ । यो चाइनिज, कोरियन र अमेरिकन कम्पनीको हुन्छ । आँखाको मुनिको भागको भोल्युम बढाउन फिलर उपयुक्त उपचार हो । यो सजिलो विधि हो र यसबाट कुनै किसिमको पीडा हुँदैन । एकपटक गरिसकेपछि १/२ वर्षसम्म ढुक्क हुन सकिन्छ ।

रोकथामका उपाय
–शरीरको आवश्यकतानुसार पानी पिउनुपर्छ ।
–जंकफुडको सेवनबाट बच्नुपर्छ ।
–ताजा, हरिया तरकारी एवं फलफूल खानुपर्छ ।
–आाखा चिलाउने बानी छ भने कन्हाउनुहुँदैन । यसले पनि डार्क सर्कल बढाउाछ ।
–राति सुत्दा सिरानीमा टाउको राखेर सुत्नुपर्छ ।
–समयमै सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ ।
–नियमित रूपमा आँखाको वरिपरि मसाज गर्नुपर्छ ।
–आँखाको वरिपरि भरसक अरु कस्मेटिक सामग्री प्रयोग गर्नुहुँदैन ।
–मोबाइल र कम्प्युटरमा धेरै लामो समयसम्म बस्नुहुादैन ।
–घाममा हिँड्दा चस्मा, स्कार्फ र छाता बोक्न बिर्सनुहुँदैन ।
–नियमित मोस्चराइजर र सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।
–धूम्रपान र मद्यपान गर्नुहुँदैन ।

सौन्दर्य तथा छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णसँग गरिएको कुराकानीमा आधरित

कान्तिपुर

Link copied successfully