मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक

पुस २६, २०७४

कान्तिपुर संवाददाता

काठमाडौँ — ठाउँ नारायणी नदीको पारिपट्टि त्रिवेणी भन्ने गाउँ छ । यो पहिले नवलपरासीमा जिल्लामा पथ्र्यो, अहिले नवलपुरमा पर्छ । मेरो बाल्यकालको अधिकांश समय त्यहीँ बित्यो । त्यहाँ एक किलोमिटर चौडा नदी छ, त्यसको किनारमै पहाड छ । मन्दिरैमन्दिरले भरिएको निर्दाेष गाउँ भएकोले त्यो ठाउँ मलाई मन पर्छ । 

परिकार 

दाल भात तरकारी नै मन पर्छ । गोलभेडा र मूलाको थिचेको अचार मन पर्छ । अहिलेको जाडोमा पालुंगोको साग भयो भने मीठो मानेर खान्छु । 


पेय 

कहिलेकहीँ सोसल ड्रिंक्स गर्दा ह्वीस्की र स्कच प्रिफर गर्छु । 


पुस्तक

म प्राय: पुस्तक पढिरहन्छु । गुरुप्रसाद मैनालीको ‘नासो’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र अमर न्यौपानेको ‘सेतो धर्ती’ मलाई एकदमै मन परेका पुस्तक हुन् । यी पुस्तक यथार्थ र जनजीवनसँग नजिक छन् । 


लेखक 

पुरानामा गुरुप्रसाद मैनाली र नयाँमा अमर न्यौपाने मन पर्छन् । उहाँहरूको लेखाइ सरल र सामान्य लाग्छ । 


गीत 

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको, नातिकाजीले संगीत भर्नुभएको र गायिका तारादेवीले गाउनुभएको ‘फूलको थुँगा बहेर गयो...’ मन पर्छ । नारायणगोपालको ‘यति धेरै माया दिई...’ र लोकगीत ‘नरोऊ मायालु...’ धेरै सुन्छु । 


गायक/गायिका 

गायकमा नारायणगोपाल र गायिकामा लता मंगेशकरलाई धेरै सुन्ने गर्छु । 


फिल्म 

बाल्यकालमा हेरेको भएर होला, ‘सम्झना’ फिल्म मन पर्‍यो । पर्दामा ठुल्ठूला देखिने अनौठा गतिविधि रोचक लागेका थिए । 


अभिनेता/अभिनेत्री 

अमिताभ बच्चनको फयान हुँ । अभिनेत्रीमा तृप्ति नाटकर मन पर्छिन् ।


ग्याजेट 

म आइफोन सेभेन चलाउँछु । मसित सामसुङको जे सेभेन पनि छ, तर यो त्यति कम्फर्टेबल लागेन । 


कान्तिपुर

Link copied successfully