सुनसरीका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

श्रावण ११, २०८३

अर्जुन सुवेदी

Indefinite Curfew Imposed in Additional Areas of Sunsari

सुनसरी — जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो ।

प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन् ।

कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ।

इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको भन्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् । 

घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । 

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Link copied successfully