पहिरोले चार परिवार विस्थापित, सिङ्गो गाउँ जोखिममा

पहिरोले घरमा क्षति पुर्‍याउँदा स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बासहितका चार घर–परिवार विस्थापित भएका हुन् ।

श्रावण १०, २०८३

लक्ष्मी गौतम

Landslide displaces four families, entire village at risk

पाँचथर — बस्तीको पुछारबाट पहिरो खस्न थालेपछि पाँचथरको फालेलुङ–५ को लुमाङदिन गाउँ अहिले जोखिममा परेको छ । पहिरोले घरमा क्षति पुर्‍याएपछि आइतबार चार घर–परिवार विस्थापित भएका हुन् भने थप ३५ घर जोखिममा रहेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।

आइतबार बिहानबाट सुरु भएको पहिरो खस्ने क्रम बेलुकासम्मै नरोकिँदा सिङ्गो गाउँ जोखिममा परेको खपाङ्गीले बताए ।

पहिरोले घरमा क्षति पुर्‍याउँदा स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बासहितका चार घर–परिवार विस्थापित भएका हुन् ।

बस्तीको पुछारबाट गाउँ नै प्रभावित हुने गरी पहिरो खसिरहेका कारण ३५ घर–परिवारका १ सय ६८ जना अहिले उच्च जोखिममा रहेका छन् । बस्तीको पुछारमा पहिरो गइरहनुका साथै अधिकांश जमिनमा धाँजा फाटेकाले थप घरहरू जोखिममा देखिएका हुन् ।

आइतबार बेलुकासम्मै पानी परिरहेकाले जोखिम यथावत् रहेको स्थानीय बताउँछन् । घर भत्केका चार परिवारलाई नजिकै रहेका आफन्तकहाँ स्थानान्तरण गर्नुका साथै विस्थापितको सङ्ख्या बढ्ने देखिएकाले नजिकैको सिद्ध आधारभूत विद्यालयमा अस्थायी वासस्थानको व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष खपाङ्गीले सुनाए ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले फालेलुङ पहिरोका कारण चार परिवार विस्थापित हुनुका साथै थप घर जोखिममा रहेको पुष्टि गरेका छन् । अहिले पहिरो प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत हुन नसकेको उनको भनाइ छ । 

यसअघि पहिरोकै कारण फालेलुङ–२ मा आठ र फालेलुङ–३ मा एक परिवार विस्थापित भएका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully