झापामा २३ परिवारलाई लालपुर्जा वितरण

पछिल्लो एक सातामा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकाका गरी २३ परिवारले लालपुर्जा प्राप्त गरेका हुन्।

श्रावण ९, २०८३

पर्वत पोर्तेल

Land ownership certificates distributed to 23 families in Jhapa

What you should know

बिराटनगर — जिल्ला भूमि समस्या समाधान समिति झापाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण अभियानलाई तीव्रता दिएको छ। 

पछिल्लो एक सातामा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकाका गरी २३ परिवारले लालपुर्जा प्राप्त गरेका छन्।

शुक्रबार कनकाई नगरपालिका–३ का पाँच परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो। पुर्जा प्राप्त गर्नेमा एक परिवार भूमिहीन दलित र चार परिवार अव्यवस्थित बसोबासी रहेका छन्। उनीहरूलाई झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकालले लालपुर्जा हस्तान्तरण गरे।

यसअघि बिहीबार अर्जुनधारा नगरपालिका–११ का १८ जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो। पुर्जा झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुली लामिछानेले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

त्यसअघि असार २९ गते बुद्धशान्ति गाउँपालिकाका पाँच अव्यवस्थित बसोबासी परिवारले पनि लालपुर्जा प्राप्त गरेका थिए। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने आधार प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुर्जा प्राप्त गरेपछि जग्गाको संरक्षण र सदुपयोग गर्न आग्रह गरे। अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङले नगरभित्र रहेका भूमि समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै आफ्नो कार्यकालभित्र सबै वास्तविक लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष शिवराम गेलालले सरकारले तय गरेको ६ सय दिने कार्ययोजनाअन्तर्गत झापाका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार काम अघि बढिरहेको बताए। वडा, स्थानीय तह, जिल्ला र केन्द्रबीच समन्वय गर्दै देखिएका समस्या समाधान गरी तोकिएकै समयसीमाभित्र सबै वास्तविक लाभग्राहीलाई पुर्जा वितरण गरिने उनले बताए।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा नापजाँच, अभिलेखीकरण र पुर्जा वितरणको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।

भूमि शाखा प्रमुख चुडामणि निरौलाका अनुसार अर्जुनधारा नगरपालिकामा हालसम्म ४ सय ४४ जनालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ। अर्जुनधारा–१ मा करिब १ सय २५वटा पुर्जा वितरणको तयारी अवस्थामा छन् भने अर्जुनधारा–२ का करिब ४२ परिवारको पुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

जिल्ला भूमि समस्या समाधान समितिले सरकारले अघि सारेको अभियानअन्तर्गत वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने कार्यलाई आगामी दिनमा अझ तीव्र बनाउने जनाएको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully