झापामा डेंगी संक्रमितको संख्या घट्दो

स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण संक्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको हो ।

श्रावण ९, २०८३

रासस

Number of dengue cases declining in Jhapa

काठमाडौँ — झापामा पछिल्लो समय डेंगी सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेंगीका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घटेर ६०१ जनामा सीमित भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार डेंगी सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा हरेक वर्ष ‘लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर’ अभियान सञ्चालन हुँदै आएको छ । 

स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण सङ्क्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको उनले बताए ।

रासस

Link copied successfully