घरायसी विवादपछि झापामा दम्पतीले ज्यान गुमाए

दुवै घाइतेलाई तत्काल दमक अस्पताल पुर्‍याइए पनि चिकित्सकले अपराह्न साढे ३ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

श्रावण ६, २०८३

पर्वत पोर्तेल

After a domestic dispute, a couple lost their lives in Jhapa

विराटनगर — झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीचको विवादले उग्ररुप लिएपछि दम्पतीकै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो २ बजेतिर ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच घरमा विवाद भएको थियो। 

विवादका क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। त्यसपछि धनबहादुर घरभित्र सिलिङ फ्यानमा सलको पासो लगाएर झुन्डिएका थिए। २५ वर्षीया छोरी प्रियंका दर्जीले बाबुलाई झुन्डिएको अवस्थामा देखेपछि पासो काटेर भुइँमा झारेकी थिइन्। 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवै घाइतेलाई तत्काल दमक अस्पताल पुर्‍याइए पनि चिकित्सकले अपराह्न साढे ३ बजे दुवैलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखिएको जनाएको छ। 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully