अविरल वर्षासँगै आएको पहिरोले जीवनाथ बानियाँको घर पुरेको छ भने अन्य केही घरमा जोखिम बढेको वडाध्यक्ष गोपाल बानियाँले जानकारी दिए।
ताप्लेजुङ — अविरल वर्षासँगैको पहिरोले सिदिङवा गाउँपालिका १ कालिखोला निवारे टोलमा एउटा घर पुरेको छ भने अन्य केही घर पनि जोखिममा परेका छन् ।
मङ्गलबार बिहानको पहिरोले जीवनाथ बानियाँको घर पुरिएको वडाध्यक्ष गोपाल बानियाँले जानकारी दिए ।
उनका अनुसार उक्त घरमा स्थानीय विद्यालयको बालविकास सहजकर्तासमेत रहेकी सीता बानियाँ आफ्नो सन्तानसँगै बस्दै आएकी थिइन् ।
सोमबार दिउँसो घर आसपासको क्षेत्र चर्किएपछि उनीहरू बेलुका छिमेकी दिलबहादुर बानियाँको घरमा गई बसेका थिए । घरको सरसामान भने सार्न नपाएको वडाध्यक्ष बानियाँले बताए।
मङ्गलबार बिहान स्थानीय मेयरमान बानियाँको घर जोखिमपूर्ण अवस्था बनेपछि सरसामान सार्ने काम भइरहेको बानियाँले बताए । ‘बिहान ११ बजेतिर हामी धमाधम सामान निकाल्दैछौँ,’ वडाध्यक्ष बाँनियाले भने, ‘पानी पनि परिरहेको छ र घर पनि ढल्न लागेको छ ।’ मेयरमानको आँगन समेत पहिरोले भत्काइसकेको स्थानीयले बताएका छन् ।
पहिरोको जोखिममा रहेकाहरूलाई सुरक्षित गर्ने र विवरण संकलनको काम भइरहेको छ । यो क्षेत्रमा छिनमा ठूलो पानी पर्ने, छिनमा रोकिने भइरहेको छ । भारत सिक्किमसँगको यो सिमावर्ती गाउँमा सोमबारदेखि नै वर्षा भइरहेको स्थानीयले बताएका छन् ।
