बीपी प्रतिष्ठान परिसरका ३५ औषधि पसलमा सिलबन्दी

गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासनले औषधि पसलहरूको अनुगमनलाई निरन्तरता दिएको थियो ।

श्रावण ५, २०८३

एलिना राई

35 drug stores in BP campus sealed

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चाललित ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ।

इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले असार अन्तिमदेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए । उनका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी फेला परेपछि ३५ वटा औषधि पसल सिलबन्दी गरिएको हो।

प्रहरी निरीक्षक साहका अनुसार आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका पसल कारबाहीमा परेका हुन् । अनुगमन टोली आउने जानकारी पाएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका तथा अनुगमनमा असहयोग गरेका औषधि पसलमाथि सिलबन्दीको कारबाही गरिएको थियो । सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ । कागजातको अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासनले औषधि पसलहरूको अनुगमनलाई निरन्तरता दिएको हो। प्रशासनले प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलहरूलाई कानुनी प्रक्रिया पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully