नुहाउने क्रममा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसेमा नुहाउने क्रममा खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब २ बजेर ५० मिनेटमा स्थानीय तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकी लिम्बू र त्यही स्थानका खानबहादुर लिम्बूकी १० वर्षीया छोरी रेसु लिम्बू घरदेखि करिब २ सय मिटर उत्तर–पश्चिममा रहेको सभाखोलामा नुहाउन गएका थिए । त्यही क्रममा खोलाले जानकीलाई बगाएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनापछि खोजीका क्रममा पाँचखपन नगरपालिका–१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्यामको पश्चिमतर्फ ढुंगामा उनको शव अड्किएको अवस्थामा फेला परेको डीएसपी कुमारप्रसाद मैनालीले बताए । खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रविसेबाट प्रहरी सहायक निरीक्षक देवनारायण माझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनको शव पानीबाट बाहिर निकालेको छ ।
घटनामा जानकीसँगै नुहाउन गएकी १० वर्षीया रेसु लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
