छाँगे खोलामा शान्ता राई र खाइखुरे खोल्सीमा पर्शुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
खोटाङ — छुट्टाछुट्टै ठाउँमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । छाँगे खोलामा आएको बाढीले बगाउँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई र खाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ को पर्शुराम परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार शनिबार दिउँसो ४ बजेतिर घरबाट हिँडेकी शान्ता राईलाई खोलाले बगाएपछि राति छाँगे खोलामा मृत फेला परेकी हुन् । त्यस्तै खाइखुरे खहरे खोल्सा तर्ने क्रममा बगेका पर्शुराम परियार खोजी गर्ने राति मृत फेला परेका हुन् । उनलाई खोल्सीले बगाएर करिब १ सय मिटर तल झारेको प्रहरीले जनाएको छ ।
दुईमध्ये शान्ताको शव जिल्ला अस्पताल दिक्तेलमा आइतबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ भने परियारको शव भने सोमबार मात्रै पोष्टमार्टम हुने प्रहरीले जनाएको छ ।
