बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् ।
What you should know
पाँचथर — अविरल वर्षापछि सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा दुवै जिल्लाले छुट्टाछुट्टै सूचना जारी गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
पाँचथर जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ३ बिहान ५ बजेसम्म जिल्लाका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन रोक लगाएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रेस विज्ञप्ती प्रकाशित गर्दै मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, फिदिम–फालोट, राँके–रवि सडक, जोरसाल–मेमेङ सडक लगायतका मार्गमा रातिको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएका हुन् ।
स्थानीय तहले भने आवश्यकता आ-आफ्नो क्षेत्रभित्रका अन्य सडकमा पनि सवारी सञ्चालन रोक्न सक्ने बताइएको छ ।
यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म वर्षाको अवस्थालाई मध्यनजर गर्दै मेची राजमार्ग, मेची करिडोर लगायत जिल्लाका सबै सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार यो व्यवस्था लागू गरिएको हो ।
पाँचथर प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला, खोल्सा र नदी आसपासका क्षेत्रबाट टाढा रहन, पहिरोको जोखिम भएका सडक प्रयोग नगर्न तथा नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सम्बन्धित निकायलाई सम्भावित उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
जोखिमयुक्त सडकमा डोजर, एक्स्काभेटर लगायतका उपकरण तयारी अवस्थामा राख्न र पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न सबै निकायबीच निरन्तर समन्वय गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले आवश्यक परे विपद् सहायता नम्बर ११४५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४ तथा नेपाली सेनाको सम्पर्क नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका पहाडी तथा तराईका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना औंल्याएपछि दुवै जिल्ला प्रशासनले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वसतर्कतामूलक रूपमा रातिको सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका हुन् । प्रशासनले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न र आधिकारिक सूचनालाई पालना गर्न सबैमा अनुरोध गरेको छ ।
