धनकुटामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

प्रशासनले शनिबार बेलुकी ७ देखि आइतबार बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

श्रावण २, २०८३

रमेशचन्द्र अधिकारी

Night vehicle operation banned in Dhankuta

What you should know

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले विभिन्न सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । 

प्रशासनले शनिबार बेलुकी ७ देखि आइतबार बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको उच्च जोखिम रहेको भन्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमालाले जानकारी दिए । 

यसक्रममा भेडेटारदेखि रवि–राँके सडक खण्ड, तमोर कोरिडोरस्थित मुलघाटदेखि पाँचथर सिमाना र भेडेटारदेखि तेह्रथुम, संखुवासभा, भोजपुर तथा पाँचथरसम्म जाने सम्पूर्ण सवारी साधनलाई उक्त समयमा सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

त्यस अवधिमा अन्यत्र स्थानमा समेत जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई सूचनामार्फत अनुरोध गरेको छ । अकस्मात बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत प्रशासनले सचेत गराएको छ । 

विपद्को पूर्वतयारी स्वरुप जिल्लास्थित तीनवटै सुरक्षा निकाय, स्थानीय तह साथै स्वय‌ंसेवक तथा सरोकारवाला सम्पूर्ण निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।

यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणको सूचनाअनुसार साउन २ र ३ गते धनकुटालगायत मुलुकभरका विभिन्न भूभागमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाइएको छ । धनकुटामा शनिबार साँझदेखि वर्षा भइरहेको छ । भेडेटारबाट धनकुटातर्फ चल्ने सवारी साधन भने सञ्चालनमा रहने छन् । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully