पहिरोले ताप्लेजुङको फुरुम्बु सडक अवरुद्ध, विद्युत र इन्टरनेट पनि बन्द

सडकभन्दा माथिबाट झरेको पहिरोले सुकेटारबाट हान्देवा, फुरुम्बु हुँदै लिंखिम जोड्ने सडक ठप्प भएको हो ।

श्रावण २, २०८३

आनन्द गौतम

Landslide blocks Furumbu Road in Taplejung, electricity and internet also shut down

ताप्लेजुङ — वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

शुक्रबार रातिको वर्षाले फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो गएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए ।

सडकभन्दा माथिबाट झरेको पहिरोले सुकेटारबाट हान्देवा, फुरुम्बु हुँदै लिंखिम जोड्ने सडक ठप्प भएको हो । आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने सडक अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात ठप्प भएको वडाध्यक्ष लिम्बूले बताए ।

पहिरोले विद्युतको पोल ढालेको छभनें त्यही पोलमा राखेर बिस्तार गरिएको इन्टरनेटपनि अवरुद्ध बनेको छ । पहिरोका कारण ढलेको रुखले बिजुलीको खम्बा, प्रसारण लाइनको  र इन्टरनेटको तारमा क्षति पुर्‌याएको लिम्बूले जानकारी दिए । फुरुम्बु क्षेत्रमा शुक्रबार रातिदेखि नै विद्युत सेवा ठप्प  छ ।

विद्युत अवरुद्ध बनेपछि विद्युतीय सुविधा सबै ठप्प भएका छन् । पुनः सञ्चालनकालागि प्रयास भइरहेको तर समय लाग्ने वडाध्यक्ष लिम्बू बताउँछन् । सडक खुलाउन र विद्युत सेवा नियमित गर्नका एक्स्काभेटर वा जेसिभी मेसिनको आवश्यकता पर्ने उनले बताए । 'श्रमदान त गाउँलेले गर्छौं, तर मान्छेले मात्रै पन्साउन नसकिने भएकाले मेसिन आवश्यक पर्ने भएको छ,' उनले भने । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully