ग्यास चुहावटबाट कुम्मायक आगलागी, दुई कटेजसहित नगद र सामग्री जले

शुक्रबार साँझ ग्यास चुहावटका कारण आगलागी हुँदा दुई वटा कटेजसहित नगद र सामग्री जलेर नष्ट भएका हुन्।

श्रावण २, २०८३

लक्ष्मी गौतम

Fire breaks out in Kummayak due to gas leak, two cottages, cash and belongings burnt

पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलका कटेजमा आगलागी हुँदा नगद र जिन्सी सामग्री जलेर नष्ट भएका छन्।

शुक्रबार साँझ ग्यास चुहावटका कारण आगलागी हुँदा दुई वटा कटेजसहित नगद र सामग्री जलेर नष्ट भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णका अनुसार साँझ करिब साढे पाँच बजे होटलको भान्सामा मासु पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको हो।

आगो स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा साँझ ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण होटल सञ्चालक तुम्बेवा गाउँपालिका–३ निवासी २५ वर्षीय बादल भण्डारीको करिब ३२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। साथै, खर र बाँसले बनेका दुई वटा कटेज, दुई वटा आइफोन, चार वटा इटेल कम्पनीका मोबाइल, दुई वटा ग्यास सिलिन्डर, दुई वटा फ्रिज, सात वटा टेबल, २५ वटा प्लास्टिकका कुर्सी, खाद्यान्न, भाँडावर्तन तथा पेय पदार्थसमेत जलेर नष्ट भएका छन्।

क्षतिको विस्तृत विवरण तथा आर्थिक मूल्याङ्कन भइरहेको प्रहरीले जानकारी दिएको छ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully