२५ हजार धरौटीमा छुटे युट्युबर पोखरेल

फाल्गुनन्दका रोशन पोखरेललाई उच्च अदालत विराटनगरको आदेशमा २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ, मुद्दाको अन्तिम फैसला अझै हुन बाँकी छ ।

श्रावण १, २०८३

लक्ष्मी गौतम

YouTuber Pokharel released on bail of Rs 25,000

पाँचथर — प्रधानमन्त्री बालेन्द्र साह र उनको परिवारलाई लक्षित गर्दै युट्युबसहित विभिन्न सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का रोशन पोखरेल २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत विराटनगरको इलाम इजलासले जिल्ला अदालत पाँचथरको पुर्पक्षका लागि कारागार पठाउने आदेश बदर गर्दै पोखरेललाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय किरण पोखरेल र काजीबहादुर राईको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले यसअघि पोखरेललाई विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

प्रहरीले पोखरेललाई २९ चैत २०८२ मा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा देशद्रोहसम्बन्धी कसुरको आशंका गरिए पनि पछि सोही दिन परिवारको जिम्मा लगाइएको थियो । त्यसपछि उनले माफी माग्दै गरेको भिडियो सन्देशसमेत सार्वजनिक गरेका थिए ।

तर प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले १८ असार २०८३ मा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालतले कारागार चलानको आदेश दिएपछि पोखरेल उच्च अदालत पुगेका थिए ।

उच्च अदालतको पछिल्लो आदेशसँगै पोखरेल २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । मुद्दाको अन्तिम टुंगो भने अदालतको नियमित सुनुवाइबाट लाग्नेछ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully