पूर्वाधार विकास कार्यालय खोटाङका १२५ मध्ये करिब दर्जन योजना ठेकेदारले समयमा काम नगर्दा अधुरै रहेका छन्, मुख्य सडक र पुल समेत प्रभावित छन्।
खोटाङ — पूर्वाधार विकास कार्यालय खोटाङबाट सञ्चालन गरिएका १ सय २५ योजनामध्ये करिब दर्जन योजनाहरू अपूरै भएका छन्। निर्माण कम्पनीहरूले सम्झौता गरेर बेलैमा काम नथाल्नुका साथै सरासर काम नगर्दा उक्त योजनाहरू अधूरै रहेका हुन्।
उक्त कार्यालयबाट चालु आर्थिक वर्षमा सञ्चालित ५ ठूला योजनामध्ये हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक, नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक, बङ्सिला–चिसापानी–मौवाबोटे सडक, अस्पतालचौक–साकेला सडक र दिखुवाखोला पुललगायतका ठूला योजनाहरू अपूरै रहेका हुन्।
पूर्वाधार विकास कार्यालय खोटाङका सूचना अधिकारी रजत पोखरेलका अनुसार हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको अस्फाल्ट कालोपत्रको भौतिक प्रगति करिब २५ प्रतिशत र वित्तीय प्रगति २१.६९ प्रतिशत मात्र भएको देखिन्छ। त्यस्तै नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडकको अस्फाल्ट कालोपत्रको काम पनि ४० प्रतिशत र वित्तीय प्रगति ४१.५० प्रतिशत देखिएको छ। यी दुवै सडकको ठेक्का बीसी–पीसी–पीकेबी जेभीले लिएको हो। यसमध्ये हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक दुई करोड ५३ लाख ५३ हजार ५ सय १५ रुपैयाँको लागतमा गत असार १५ गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले गत वैशाख ३ गते पूर्वाधार विकास कार्यालय खोटाङसँग सम्झौता गरेको थियो।
त्यस्तै उक्त निर्माण कम्पनीले नै ठेक्का लिएको नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडकको अस्फाल्ट कालोपत्रको काम पनि अपूरो भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। दुई करोड ३८ लाख ३७ हजार ५ सय ७७ रुपैयाँको लागतमा असार १५ गते सम्पन्न गर्ने गरी वैशाख ३ गते नै पूर्वाधार विकास कार्यालय खोटाङसँग सम्झौता भएको थियो। उक्त सडक खण्डमा १ हजार ८ सय ८८ मिटर अस्फाल्ट कालोपत्र, १ सय ४० मिटर ढलान तथा कजवे र नाला निर्माण गर्नुपर्ने थियो। निर्माणमा सम्बद्ध लोकेन्द्र विष्टले सामग्री (बिटुमिन) अभाव र प्रतिकूल मौसमका कारण ढिला भएको जनाएका छन्।
त्यसैगरी बङ्सिला–चिसापानी–मौवाबोटे सडक पनि अपूरै भएको छ। पोलिष्टार–शान्तिभूमि जेभीले २ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा २०८३ असार १५ गतेभित्र सक्ने गरी २०८२ चैत २४ गते सम्झौता गरेको थियो। तर वित्तीय प्रगति ४५ प्रतिशत मात्र भएको पोखरेलले सुनाएका छन्।
दिक्तेल अस्पतालचौक–साकेला जोड्ने सडक पनि अपूरै भएको छ। खोक्चिलिपा–साल्मे–आरडीटीले २०८३ असार ३१ गतेसम्म सक्ने गरी २०८२ फागुन ११ गते सम्झौता गरेको थियो। १ करोड १६ लाख ३६ हजार ४ सय २० रुपैयाँको लागतमा सम्पन्न हुने उक्त योजनाको भौतिक र वित्तीय प्रगति ८१ प्रतिशत देखिएको छ।
त्यसैगरी तराईसँग छोटो दूरीको सडकअन्तर्गत पर्ने दिक्तेल–आहाले–रेग्मीटार सडक खण्डको दिखुवा खोलामा निर्माणाधीन पुल पनि अपूरै भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको बीचमा पर्ने दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको ठेक्का अन्शुवी–नेपाल फूलबारी–पिङ्गला जेभी, सुनसरीले लिएको थियो। २ करोड ७० लाख २६ हजार रुपैयाँको लागतमा २०८३ वैशाख २४ भित्र सक्ने गरी २०८२ पुस २३ मा सम्झौता गरेको थियो। तर काम भने भौतिक र वित्तीय गरी ३१.६१ प्रतिशत मात्र प्रगति भएको पोखरेलले सुनाएका छन्।
पूर्वाधार विकास कार्यालय खोटाङबाट चालु आर्थिक वर्षका लागि विनियोजित कुल ८५ करोड ८५ लाख ५६ हजार रुपैयाँमध्ये ७४ करोड ९८ लाख ९९ हजार ८ सय ४ रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ।
