कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा निर्णय गर्ने तयारी गरेको थियो। तर, बैठककै क्रममा केन्द्रबाट आएको निर्देशनपछि निर्णय स्थगित गरिएको थियो।
विराटनगर — कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय नेतृत्वको निर्देशनपछि निर्णय स्थगन गरेको छ।
कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा निर्णय गर्ने तयारी गरेको थियो। तर, बैठककै क्रममा केन्द्रबाट आएको निर्देशनपछि निर्णय स्थगित गरिएको थियो।
बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग थप परामर्श गर्ने जिम्मेवारी दिएको छ। केन्द्रबाट औपचारिक निर्णय आएपछि पुनः बैठक बसेर आवश्यक निर्णय गरिने थापाले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमालेसँगको सहकार्य भने राजनीतिक रूपमा अन्त्य भएको बताए।
‘एमालेसँगको सहकार्य टुङ्गिएको छ। अब हामी तीन विकल्पमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘एमालेसँग सहकार्य कायम राख्न प्रयत्न गर्ने, नेकपासँग सहकार्य गर्ने वा प्रतिपक्षमा बस्ने विकल्प खुला छन्।’
थापाका अनुसार केन्द्रका नेतासँगको परामर्शपछि मात्रै सरकारमा सहभागी मन्त्रीहरूको विषयमा अन्तिम निर्णय हुनेछ।
बैठकमा संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, प्रदेश सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत सहभागी थिए।
हाल हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।
