प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार कारागारका नाइके, चौकीदार र एक कैदी गरी तीन जनाले राखेको ४८ लाख रुपैयाँभन्दा बढी नगद फेला परेको हो ।
पाँचथर — इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार साँझ कारागारमा छापा मारेर उक्त रकम बरामद गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार कारागारका नाइके, चौकीदार र एक कैदी गरी तीन जनाले राखेको ४८ लाख रुपैयाँभन्दा बढी नगद फेला परेको हो । ढकालका अनुसार बरामद रकममध्ये २४ हजार भारतीय रुपैयाँ पनि छन् ।
ढकालले बरामद रकमको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरिएको बताएका छन् । यद्यपि कैदीबन्दीहरूले भने उक्त रकम आफूहरूले नै चौकीदार र नाइकेलाई राख्न दिएको दाबी गरेका छन् ।
अनुसन्धानपछि रकम वैधानिक स्रोतबाट आएको पुष्टि भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रजिअ ढकालको भनाइ छ ।
'कारागारभित्र रहेका तीन व्यक्तिसँग यति ठूलो रकम कसरी संकलन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' ढकालले भने ।
प्रहरीले कारागारभित्र अवैध रकम रहेको विशेष सूचनाका आधारमा छापा मारेको थियो । छापाका क्रममा कारागारको ७ नम्बर कोठाबाट उक्त नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि बरामद रकमको स्रोत, सम्भावित अवैध कारोबार तथा कारागारभित्रको आर्थिक गतिविधिबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
