खोटाङ कारागारमा रहेका एक कैदीको मृत्यु

'मलाई पनि राति फुटबल हेर्न बोलाउनु है भनेर सुतेका रहेछन्, फुटबल सुरु भएपछि बोलाउँदा बेहोस् अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको रहेछ,' कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले भने ।

असार ३१, २०८३

डम्बरसिं राई

Death of an inmate in Khotang Prison

खोटाङ — कारागार कार्यालय खोटाङका एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जेल जीवन बिताइरहेका साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निसान राईको गए राती मृत्यु भएको हो ।

बुधबार बिहान १२ः५५ बजेतिर बेहोस अवस्थामा फेला परेका उनको जिल्ला अस्पताल पुर्‍याउनासाथ १ बजेर ५७ मिनेटमा डाक्टरले मृत घोषणा गरेको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले बताएका छन् । ‘मलाई पनि राति फुटबल हेर्न बोलाउनु है भनेर सुतेका रहेछन्, फुटबल सुरु भएपछि बोलाउँदा बेहोस् अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको रहेछ,’कठायतले भने ।

२०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसलाले राई २०८१ साउन २४ गते कारागार चलान भएका थिए । उनले दुई वर्ष जेल र २० हजार जरिवानाको फैसला सुनाएको थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully