दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
विराटनगर — सुनसरीको इटहरीमा नेपाल विद्युत् प्राधिकरणको स्कर्पियो गाडी दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा देखिएको समस्या मर्मत गर्न जाने क्रममा प्राधिकरणको बा १ ञ १६५१ नम्बरको स्कर्पियो कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलभन्दा करिब २०० मिटर दक्षिण (तरहरातर्फ) आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। राई करारका चालक थिए भने आचार्य प्राधिकरणका स्थायी हेल्पर कर्मचारी थिए।
नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी टोली स्कर्पियोमा घटनास्थलतर्फ गएको थियो।सोही क्रममा दुर्घटना भएको हो।
गम्भीर घाइते भएका राई र आचार्यलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि अस्पताल पुगेलगत्तै राति करिब १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा धरान–२० का अन्दाजी ३२ वर्षीय पदम राई घाइते भएका छन्। ज्यालादारी कर्मचारी रहेका उनको अवस्था सामान्य रहेको र प्रतिष्ठानमै उपचार भइरहेको प्राधिकरणले जनाएको छ।
दुर्घटनामा स्कर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गाडी आफैं अनियन्त्रित भएको देखिएको प्रहरीले जनाएको छ। विद्युत मर्मतका लागि हतारमा जाने क्रममा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
