बाढीले धनकुटाको मूलघाटमा जल्दै गरेको चिता बगायो

मूलघाटस्थित तमोर नदीमा अन्त्यष्टिको लागि जलाउँदै गरिएको चिता बाढीले बगाएको हो ।

असार २९, २०८३

रमेशचन्द्र अधिकारी

Floods wash away burning pyre at Mulghat in Dhankuta

धनकुटा — अत्यधिक वर्षाका कारण आएको बाढीले धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्यष्टिको लागि जलाउँदै गरिएको चिता बगाएको छ । बाढीले अन्य दुई चितालाई समेत असर पुर्‍याएको छ ।

जसमध्ये धनकुटा नगरपालिका-६ का ४३ वर्षीय गौरी रोक्काको जल्दै गरेको चिता मलामीले जोगाउन नपाउँदै बगाएको हो ।

वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका रोक्काको बाह्र दिनअघि निधन भएको थियो । मलेसियाबाट आइतबार शव ल्याएर दाहसंस्कार गर्ने क्रममा बाढीले बगाएको मूलघाटस्थित विश्रान्ति मन्दिरका महासचिव जनार्दन घिमिरेले बताए । नदी किनारमा सुरुमा पानीको सतह सामान्य रहेकोले चिता बनाएर शव जलाउने कार्य भइरहँदा अकस्मात बाढी आएर बगाएको उनले जानकारी दिए । 

अत्यन्तै बेगमा आएको बाढीका कारण शव जोगाउने प्रयास गर्दागर्दै नसकिएको प्रत्यक्षदर्शी समेत रहेका त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोख्रेलले बताए । 'वर्षात्‌का बेला उच्च सावधानी हुनुपर्ने रहेछ,' उनले भने, 'मलामीहरु धन्न जोगिए ।' रोक्काको ७५ प्रतिशत जलेको शवसहित चिता बगायो । मृतक रोक्का तीन वर्षअघि मलेसिया गएका थिए । 

रोक्काको शव भन्दा पहिले धनकुटा-९ का राधिका निरौलाको चिता बनाएर अन्त्यष्टि कार्य भइरहेको थियो । चिता बगाएपछि शव झिकेर पुनः अर्को चितामा जनाउने क्रममा पुनः बाढीले असर गरेको मलामीहरुले बताए । बाढीको छालले मलामीहरुमा समेत जोगिन भागदौड भएको थियो । परिवारले लास मुस्किलले झिकेर अर्को अर्को चिता बनाएर अन्येष्टिको काम सम्पन्न गरेका थिए ।

यस्तै, छथर जोरपाटी-२ का मृतक चन्द्रकला अधिकारीको दाहसंस्कार भइरहेको चिता समेत बाढीले असर पुर्‍याएको छ । यसअघि छिटपुट मात्र यस प्रकारको घटना भएपनि यसपटक चिता नै बगाउने गरी घटना पहिलो पटक रहेको विश्रान्तिका महासचिव जनार्दन घिमिरेले बताए । 

यसैबीच, मूलघाटमा शव बगाएको घटनामा प्रशासनले तत्काल नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । मलामीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको समेत उनले जानकारी दिइन् ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully