प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि छानबिन र कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए ।
What you should know
विराटनगर — प्रहरीले गाँजा ओसारपसारको आशंकामा लखेटेका एक किशोरको शव पोखरीमा फेला परेपछि विराटनगर महानगरपालिका–१८ भेडियारी शुक्रबार तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले शव उठाउन अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा फेला परेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव कोशी अस्पताल लैजान खोज्दा आफन्त र स्थानीयले बाटो अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि छानबिन र कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए । उनीहरूले माग सम्बोधन नभएसम्म शव उठाउन नदिने अडान लिएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको हो ।
मोरङ प्रहरीका अनुसार भीडलाई हटाएर शव अस्पताल पठाउन सामान्य बल प्रयोग गरिएको हो । लाठीचार्जपछि प्रदर्शनकारी तितरबितर भएका थिए । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे पोखरीको बीच भागमा यादवको शव तैरिरहेको अवस्थामा फेला परेको थियो ।
बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गरेको आशंकामा जाँच गर्न खोज्दा यादव मोटरसाइकल छाडेर भागेको प्रहरीको दाबी छ । भाग्ने क्रममा उनले पोखरीमा हामफालेका थिए । घटनास्थलबाट मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १ सय ३० ग्राम गाँजासहित पक्राउ गरिएको थियो ।
मृतकका आफन्त र स्थानीयले भने प्रहरीको लखेटाइका कारण किशोरको ज्यान गएको आरोप लगाएका छन् । घटनाको निष्पक्ष छानबिन र संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै उनीहरूले विरोध जनाएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
