बिग्रिएका योजना सच्याउने प्रतिबद्धतापछि कोशी प्रदेशको बजेट बहुमतले पारित

बजेटमा समावेश गरिएका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरिएको भन्दै सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए।

असार २४, २०८३

पर्वत पोर्तेल

After the commitment to fix failed projects, Koshi Province's budget passed by majority

विराटनगर — सत्तारूढ दलका सांसदहरूको असन्तुष्टि र सरकारले बजेटमा देखिएका असन्तुलन सच्याउने प्रतिबद्धता जनाएपछि कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट बुधबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

बजेटमा समावेश गरिएका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरिएको भन्दै सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोरी रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ दल एमाले र कांग्रेसका सांसदहरूलाई संसदीय दलमार्फत ह्विप जारी गरेको थियो।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। तर, बजेट निर्माणका क्रममा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रूपमा योजना छनोट गरी बजेट असन्तुलित बनाएको आरोप लगाउँदै सत्तारूढ सांसदहरूले नै विरोध जनाएका थिए।

सत्तापक्षकै असन्तुष्टिका कारण बजेटमाथिको नियमित छलफलसमेत प्रभावित भएको थियो। विवाद समाधानका लागि सरकारले सत्तारूढ दलका ६ जना सांसद सम्मिलित कार्यदल गठन गरेको थियो।

कार्यदलको सिफारिसपछि मन्त्री लिङ्थेपले बजेट पारितअघि विवादित तथा असन्तुलित कार्यक्रमहरू आवश्यक संशोधन र सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएका थिए।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully