निजी अस्पताल र मेडिकलमा बिरामी पठाउने आरोपमा धरान प्रहरीले संयुक्त टोलीमार्फत १२ जना बिचौलियालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
धरान — उपचारका लागि आएका बिरामीलाई प्रभावमा पारेर निजी मेडिकल र अस्पतालतर्फ पठाउने गरेको आरोपमा प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलियालाई पक्राउ गरेको छ।
प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने तथा आर्थिक चलखेल गरी निजी अस्पतालमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षीय सान्बिन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का १८ वर्षीय विनोद भट्टराई रहेका छन्।
यसैगरी झापा दमक–१ कुमालचोकका ४३ वर्षीय प्रविण पोखरेल र सुनसरी हरिनगर गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्युरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, उनीहरूको साथबाट बरामद मोबाइल फोनको प्रारम्भिक परीक्षणका क्रममा विभिन्न सरकारी अस्पतालका बिरामीको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्बिर, बिरामीको नाम, रोग र उमेरसहितका विवरण अन्य व्यक्तिलाई पठाइएको रेकर्ड तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका तस्बिर फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीले अस्पतालमा सक्रिय बिचौलियाको सम्भावित सञ्जाल, बिरामीको व्यक्तिगत विवरण संकलन तथा निजी अस्पतालसँगको सम्भावित समन्वयबारे थप अनुसन्धान गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
उनले उपचारका लागि आउने बिरामी तथा आफन्तलाई कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे। उपचारका लागि आएका बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पार्ने प्रयास भइरहेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो।
