बाढीले क्षति पुर्याएर बचेको पक्की पुलमाथि मोडुलर ब्रिज जडान गरिएको हो ।
पाँचथर — मेची राजमार्गको विकल्पका रुपमा उपयोग हुँदै आएको इलामको देउमाइ नगरपालिकास्थित माइखोलामा (वेलासे) मा ५५ मिटर लामो मोडुलर ब्रिज निर्माण गरिएको छ ।
सडक डिभिजन इलामले यहाँ जडान गरेको मोडुलर ब्रिज सोमबारदेखि सञ्चालनमा आएको हो । पुलको भार वहन क्षमता ३० टन रहेको सडक डिभिजन इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिए । उनका अनुसार गत असोजमा यहाँको पक्की पुलमा बाढीले क्षति पुर्याएको थियो ।
मेची राजमार्गको इलाम झापा खण्ड अन्तरगत माइखोला राजदुवाली क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या दोहोरिन थालेपछि यो सडक विकल्पका रुपमा प्रयोग हुँदै आएको थियो । यहाँ पुल नहुँदा बाढी आउनसाथ सवारी र ढुवानीका साधन जाममा पर्ने समस्या रहेको थियो ।
यहाँ बाढीले क्षति पुर्याएर बचेको पक्की पुलमाथि मोडुलर ब्रिज जडान गरिएको हो । मोडुलर ब्रिज जडानका लागि आवश्यक पूर्वाधार बनाउन सडक डिभिजन इलामले १ करोड १० लाख खर्च गरेको छ । पुल भारत सरकारले उपलब्ध गराएको हो ।
